व्यावसायिक सुशासन: फाइदा र ध्यान दिनुपर्ने कुराहरू

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

नीति नियमअनुसार पारदर्शी तरिकाले काम सञ्चालन हुनु सुशासन हो। कुनै पनि व्यवसायलाई सफलताका साथ सञ्चालन गर्न, त्यसलाई तोकिएको नीति नियम पालना गरी, सोही नियमानुसार नै सञ्चालन गर्नुपर्छ, व्यवसायका हरेक काम कारबाही पारदर्शी हुनु पर्छ। त्यो नै व्यवसायको सुशासन हो। 

सुशासनका फाइदाहरू :

  • व्यवसाय सम्बन्धमा आवश्यक निर्णयहरू लिन सजिलो बनाउँछ।
  • व्यवसायसँग सम्बन्धित सबैको काम कर्तव्य स्पष्ट बनाउँछ र काम गर्न सजिलो बनाउँछ।
  • सल्लाह सुझावहरू लिएर काम गर्ने बानीको विकास गर्छ।
  • व्यवसायमा हुने चुहावटहरू कम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्दछ, जसले व्यवसायलाई व्यवस्थित बनाउँछ।
  • सञ्चालन खर्च पनि घटाउँछ र लगानीबाट मुनाफा आउँछ भन्ने विश्वास दिलाउँछ।
  • संस्थाको पहिचान इज्जत बढ्दै जान्छ।

व्यवसायको सुशासनका लागि मुख्यतया निम्न कुराहरूमा ध्यान दिनु पर्दछ :  

  • व्यवसायका सञ्चालक कर्मचारीहरूप्रति र कर्मचारीहरू व्यवसायप्रति जिम्मेवार अर्थात् उत्तरदायी हुनु पर्दछ।
  • व्यवसायसँग सम्बन्धित सबै कुराहरूको बारेमा, साझेदारहरू, सञ्चालकहरू र कर्मचारीहरूलाई जानकारी हुनु पर्दछ। सबै कामकारबाहीहरू पारदर्शी हुनु पर्दछ। 
  • व्यवसायसँग सम्बन्धित नीति नियम,अनुशासन र संस्थाको आचारसंहिताको सबैले पालना गर्नुपर्छ।
  • तोकिएको कामप्रति सबै जबाफदेही हुनुपर्छ। व्यवसाय सम्बन्धी बैठक, भेला तथा साधारण सभाहरूमा आ–आफ्नो जिम्मेवारीअनुसार सबैको सक्रिय सहभागिता हुनुपर्छ। 
  • व्यवसायसँग सम्बन्धित सबैको एक अर्काप्रति सम भाव हुनु पर्दछ। कसैलाई काखा कसैलाई पाखा जस्तो विभेद वा असमानता हुनु हुँदैन।

सुशासनका उपायहरू :

  • व्यवसायको सुशासनका लागि स्पष्ट नीति नियमहरू बनाउने र नीति नियमको आधारमा मात्र निर्णय गर्ने वा काम गर्ने बानी गर्ने।
  • हरेक विषयमा राम्रो छलफल गर्ने र सबैको राय सल्लाहमा काम गर्ने।
  • कार्य पात्रो बनाउने र सो अनुसार काम गर्ने ।
  • बेला-बेलामा कामको मूल्याङ्कन गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन दिने वा कामको नेतृत्व दिने। 
  • कर्मचारी सञ्चालक सबैलाई सुशासन, काम कर्तव्य अधिकारका बारेमा समय समयमा तालिम दिने।

व्यवसायमा काम गर्ने कर्मचारीहरूको मनोबल बढाउन, संस्था आफ्नै हो भन्ने भावनाको विकास गर्न, कार्य प्रक्रियालाई प्रभावकारी बनाउन ,संस्थाको इज्जत पहिचान बढाउन र व्यवसायलाई दिगो र सफल बनाउन सुशासनमा जोड दिनु पर्दछ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।