प्राइभेट फर्म वा उद्योग सञ्चालन गर्नु अघि दर्ता गर्न निवेदन बुझाए जस्तै फर्म बन्द गर्दा पनि खारेजको लागि निवेदन दिनुपर्छ। सञ्चालकको मृत्यु भएमा वा मानसिक स्थिति खराब भएमा, ऊ सधैँको लागि देश छोडेर जाने भएमा, आदि जस्ता कारणले  फर्म बन्द गर्नुपर्‍यो भने सरकारले तोकेको निम्न प्रक्रिया अनिवार्य रुपमा पूरा गर्नुपर्छ। 

कसरी खारेज/बन्द गर्ने?

प्राइभेट फर्मको धनीले उचित कारण देखाएर फर्म खारेज गर्न सम्बन्धित विभागमा निवेदन दिनुपर्छ।

  • उद्योगको हकमा उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभागमा
  • कम्पनीको हकमा कम्पनी रजिस्ट्रारको कार्यालयमा
  • वाणिज्य व्यापारको हकमा वाणिज्य विभागमा
  • सेवा प्रदायकको हकमा नियमन गर्ने निकाय, जस्तै चार्टर एकाउन्टेन्ट संस्था, नेपाल मेडिकल काउन्सिल, नेपाल बार एसोसिएसन आदिमा
  • साना व्यवसायीको हकमा स्थानीय निकायमा

प्राइभेट फर्म खारेजीको लागि फर्मको प्रोपाइटरले सक्कल नागरिकता सहित फर्म दर्ता गरेको कार्यालयमा गएर फर्म खारेजीको लागि दरखास्त दिनुपर्छ। प्रोपाइटर आफै उपस्थित हुन नसक्ने भएमा नजिकको हकवालाले प्रोप्राइटरको मन्जुरीनामा, नाता प्रमाणपत्र तथा आवश्यक कागजात सहित निवेदन दिन सक्छन्।

फर्म धनीको मृत्यु भएका कारण बन्द गर्नुपर्ने भए के गर्ने?

  • फर्म धनीको मृत्यु पछिका हकवालाहरूले आपसी समझदारीमा फर्म खारेज गर्ने भए उनीहरूबिचमा भएको मन्जुरीको कागज, सक्कल नागरिकता, नाता प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्र र अन्य आवश्यक काजगपत्र सहित दरखास्त दिन सक्छन्
  • तर हकवालाहरूबिच फर्म खारेजीलाई लिएर विवाद भएमा तिनै हकवालाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा हकदावी सम्बन्धी ३५ दिने सूचना प्रकाशित गर्नुपर्छ। यो गरेपछि कानुन बमोजिम कामकारबाही हुन्छ

के के कागजपत्र चाहिन्छ?

  • रीतपूर्वक भरेको निवेदन

  • फर्म दर्ताको सक्कल प्रमाण पत्र
  • स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • अघिल्लो आर्थिक वर्षमा कर तिरेको रसिद

के कति शुल्क तिर्नुपर्छ?

फर्म खारेजीको लागि आवेदन दिन रु. १००।– दस्तुर तिर्नुपर्छ।

अरु के कस्ता कारणले फर्म खारेज हुनसक्छ?

  • तोकिएको अवधि भित्र नवीकरण नगराएमा 
  • एउटै व्यक्तिको नाममा एकभन्दा बढी वाणिज्य सम्बन्धी प्राइभेट फर्म दर्ता गरेको भएमा
  • विभागले फर्म सम्बन्धी विवरण माग्दा तोकिएको अवधि भित्र सो विवरण पेस नगरेमा
  • ऐन नियमको विपरीत कुनै कार्य गरेमा

स्रोत: प्राइभेट फर्म सम्बन्धी मापदण्ड, २०७१

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल