Photo Source : Online Khabar

प्याजको भाउ आकाशिएको खबर हामी सबैले सुन्दै आइरहेका छौँ। प्याजका लागि भारत मै निर्भर रहनुपर्ने भएकाले महँगो दाम हालेरै भएपनि किन्न बाध्य छौँ। आफैँले यसको खेति गर्ने हो भने बजारमा राम्रो मूल्यमा बेच्न सकिने संभाबना हुन्छ। यो लेखमा प्याज खेती प्रभावकारी रूपमा कसरी गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।  

हावापानी

प्याजको खेती घाम लाग्ने पारिलो ठाउँमा गर्नुपर्छ। प्याजको बोट १३ डी. से. देखि २४ डी. से. तापक्रममा फस्टाउँछ।

माटो

यसको खेती पानीको राम्रो निकास भएको, हलुका दोमट मलिलो माटोमा गर्नुपर्छ। माटोको पी.एच.मान ६.० देखि ६.८ सम्म हुनुपर्छ।

जातहरु

प्याजका नसिक ५३, रेड क्रियोल, सुपरेकस, टी.आई. १७२, कास, भेनस र विन्टर सिल्भर गरि ७ वटा जातहरू छन्।

खेती गर्ने तरिका

प्याजको खेती तीन प्रकारबाट गर्न सकिन्छ:

१) बीउ छरेर

२) उमारेको बेर्नालाई सारेर

३) प्याजको साना दानाका सेट तयार गरेर 

यो लेखमा हामी बेर्ना सारेर गरिने खेतिका बारेमा सिक्छौँ।

जग्गाको तयारी

प्याज खेतीको लागि डयाङ्ग बनाउन १ मिटर चौडाइ र आवश्यकता अनुसारको (साधरणतया ३ मिटर) लम्बाई भएको जमिन हुनुपर्छ।

दुई डयाङ्गको बिचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ।

मलखाद

प्राङ्गारिक तथा रासायनिक मलखादहरु (युरिया तथा हर्मोनहरु बाहेक) जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले तलको सूचिमा दिए अनुसार प्रयोग गर्नुपर्छ:

  • प्राङ्गारिक र गोबर मल – करिब २ टन
  • पिना – २० के. जी.
  • डी. ए. पी. – १५ के. जी.
  • युरिया – १० के. जी.
  • म्युरेट ओफ पोटास – १० के. जी.
  • जिङ्क सल्फेट – १ के. जी.
  • बोरेकस – १ के. जी.
  • बायोजाम – १ के. जी.
  • हर्मोनहरु – प्राविधिकको सल्लाह बमोजिम

बीउ दर

प्रति रोपनी ५००–६०० ग्राम बीउ रोप्नुपर्छ।

बेर्ना सार्ने

प्याजको बीउ छरेको गर्मी महिनामा एक महिनापछि र जाडो महिनामा २ महिनामा बेर्ना सार्न लायक हुन्छ। दह्रा, मोटा तथा स्वास्थ्य बिरुवा छनोट गरेर रोप्नुपर्छ। प्याजको बेर्ना उखेल्नुभन्दा १–२ दिन अघि नै क्रिनोक्सिल गोल्ड नामक ढुसीनाशक विषादी २ ग्राम प्रतिलिटर पानीका दरले मिसाएर ब्याडमा माटो भिज्ने गरी छर्नुपर्छ। रोप्नका लागि छानिएको बेर्नाको जरालाई रोप्नुभन्दा पहिले एच. बी. १०१ दुई थोपा वा एटोनिक दुई थोपा प्रतिलिटर पानीमा मिसाएर आधा घण्टासम्म छर्केर मात्र बेर्ना रोप्नुपर्छ। रोपिसके पछि नसरुन्जेलसम्म माटा कत्तिको चिसो छ अथवा छैन हेरेर आवश्यकता अनुसार ५ दिनसम्म दिनको दुई पटक पानी हाल्नुपर्छ।

विषादी हाल्ने

बिरुवा सारेपछि ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जीङ्गोप्लेक्स वा एग्रोमिन २ एम. एल. प्रतिलिटर पानीमा मिसाएर १५-१५ दिनको फरकमा ४ पटक छर्नुपर्छ। बिरुवालाई रोग तथा किराबाट बचाउन र राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम. एल. प्रतिलिटर पानीको दरले बेर्ना र माटो दुवै राम्ररी भिज्ने गरी छर्नुपर्छ।

टप ड्रेसिंग

बेर्ना रोपेको २० देखि २५ दिनमा ५ किलो युरिया र ४० देखि ४५ दिनभित्र अर्को ५ किलो युरिया लाइनमा छरेर टप ड्रेसिंग गर्नुपर्छ। टप ड्रेसिंग गर्दा दुई हारको बिचमा ५ से. मि. गहिरो कुलेसो बनाइ त्यहाँ युरिया राखेर माटोले पुरेर सिँचाई गर्नुपर्छ। त्यस्तै १ भाग जिवातु (प्राकृतिक जीवाणुहरुको समूहबाट) झोल मलमा ३ भाग पानी मिसाएर हरेक हप्ता दुई पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ।

गोडमेल

साधरणतया ३ देखि ५ पटक झारपात उखेल्नुपर्छ।

सिँचाई 

प्याज रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्छ। त्यसपछि पानीको मात्रा कम गर्दै लानु पर्छ र अन्त्यमा (थन्क्याउने बेला) सुख्खा राख्नुपर्छ। प्याजलाई सुरुको २,३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्छ जसका लागि सिचाईको राम्रो व्यवस्था मिलाउनुपर्दछ।

रोगहरु

बैजनी धब्बा, कालो पोके, डाउनि मिल्डू, डढुवा एन्थ्रक्नोज बैजनी जरा फेद कुहिने आदि प्याजमा लाग्ने रोगहरू हुन्

प्याजका रोगहरूलाई नियन्त्रण गर्नका लागि निम्न कामहरू गर्नुपर्छ:

  • अन्नबालीसँग घुम्ती बाली लगाउने
  • रोगमुक्त स्वास्थ्य बीउ रोप्ने र खेतबारी सफा राख्ने
  • थ्रीराम वा क्याप्टान ३ ग्राम प्रतिकिलो बीउका दरले प्याजको बीउ छर्नुभन्दा पहिले उपचार गर्ने
  • नर्सरीमा १ लिटर फर्मलडिहाइड (४०%) ६० लिटर पानीमा हालेर प्रति वर्ग मिटरमा एक लिटर माटो भिज्ने गरी छर्केर माटोको उपचार गर्ने
  • डाइथेन एम–४५,क्याप्टान, बेमिस्टिन वा क्रिनोकिसल गोल्ड २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ७ देखि १० दिनको फरकमा ३ पटक छर्ने
0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल