बङ्गुर पालन छोटो समय र थोरै लगानीमा धेरै मासु उत्पादन गर्न सकिने व्यवसाय मध्ये एक हो। बङ्गुर पालनका धेरै फाइदाहरू छन्। बङ्गुरले एक वर्षमा २ पटकसम्म गर्भधारण गर्दछ र एकपटकमा ८ - १२ पठा पाठी जन्माउन सक्दछ। यिनीहरू हलक्क बढ्ने र अरू पशुपन्छी भन्दा लाभदायी हुन्छन्।

बङ्गुर कति जातका हुन्छन्?

स्थानीय जातहरू:

जङ्गली बँदेल: यो जातका बङ्गुरहरू प्राय खैरो र  कालो रङ्गका हुन्छन्। यसको शारीरिक बाक्ला रौँले शरीर ढाकिएको हुन्छ । यसले गर्भधारण गरेको ११५ दिनपछि ब्याउँछ र ४ देखि ६ वटा पाठा पाठी जन्माउँछ।

च्वाँचे: यो मध्य पहाडमा पाइने जात हो र पहाडका लागि उत्तम मानिन्छ। यो कालो रङ्गको हुन्छ। यसले एक पटकमा सरदर ६–७ गोटा पाठा पाठी जन्माउँछ। त्यसमध्ये करिब ६ वटालाई हुर्कन्छन्। यसले गर्भधारण गरेको २२२ दिन पछि मात्र पाठा पाठी जन्माउँछ।

हुर्रा: यो जात खास गरी तराईमा पाइन्छ र तराईको लागि उत्तम मानिन्छ। यो जात हेर्दा खैरो कालो हुन्छ र यसको गर्धन र ढाडको रौँ ठाडो भएको हुन्छ। यसका खुट्टाहरू लामा हुन्छन्। त्यसैले यो अग्लो देखिन्छ।

बामपुड्के: यो सबैभन्दा सानो जातको बङ्गुर हो। यसले एक पटकमा सरदर ४.७ वटा पाठा पाठी जन्माइ ३.४ वटालाई मात्र हुर्काउन सक्छ। यो बङ्गुर प्रजनन र गुणस्तरीय मासुमा अब्बल भएतापनि कम तौल हुने भएकाले व्यावसायिक पालन त्यति गरिँदैन।

पाख्रिबास बङ्गुर: यो पाख्रिबास कृषि केन्द्रले विकास गरेको बङ्गुर हो। यसमा स्थानीय बङ्गुर भन्दा छिटो बढ्ने, बढी पाठा पाठी हुर्काउन सक्ने र अन्य उन्नत बङ्गुरको तुलनामा कम रोग लाग्ने र स्थानीय व्यवस्थापनमा पनि राम्रो उत्पादन दिन सक्ने विशेषताहरू हुन्छन्।

धराने कालो बङ्गुर: यो नेपालको पूर्वी तराई र पहाडी क्षेत्रमा पाइन्छ। यो जातमा पनि विभिन्न रोग र परजीवीसँग लड्ने क्षमता बढी हुन्छ। साथै गाउँघरमा पाइने सामान्य कृषिजन्य आहारका भरमा पनि यसलाई सजिलै पाल्न सकिन्छ।

आयातित  जातहरू

विदेशी जातहरू पालेर पनि व्यावसायिक रूपमा धेरै आय आर्जन गर्न सकिन्छ। योर्कशायर, ल्याण्डरेश, ह्याम्पशायर, ड्युरोक, तिब्बती, ट्यामवर्थ र मिशान तथा तिनका वर्णशंकरहरु विदेशी जातका बङ्गुरहरूको केही उदाहरण हुन्।

यसबाट एक किलो मासु उत्पादन गर्नका लागि कम्तीमा ३ किलो दाना खुवाउनुपर्ने हुन्छ। स्थानीय जातका बंगुरहरुकोे तुलनामा यिनीहरूलाई रोग कम मात्रामा लाग्छ र परजीवीसँग लड्ने क्षमता पनि यिनीहरूमा बढी हुन्छ। यी जातका बङ्गुरहरू तातो हावापानी तथा कच्चा गुणस्तरका दाना वा आहारा भने सहन सक्दैनन्।

आहार व्यवस्थापन कसरी गर्ने?

बङ्गुर वनस्पति र मासु दुवै खाने जनावर हो। त्यस कारण बङ्गुरको आहारा बनाउँदा पाचन प्रणालीको राम्रो जानकारी हुनु आवश्यक छ। बङ्गुरको दाना राम्रो सँग पिसिएको र सजिलैसँग पचाउन सक्ने हुनु पर्दछ। सामान्य रूपमा बङ्गुरले आफ्नो तौलको १० प्रतिशत बढी पानी पिउँछ। सुत्केरी अवस्थाको बङ्गुरलाई अरूलाई भन्दा बढी पानी चाहिन्छ। बङ्गुरको शारीरिक अवस्था अनुसार फरक फरक मात्रामा आहारा दिनुपर्ने हुन्छ। पाठापाठीलाई दूध छुट्ट्याएको दिनदेखि ७५ दिनसम्म खुवाउने रासनलाई स्टाटर रासन भनिन्छ। यसै गरी ग्रोअर रासन, फिनिसर रासन, गर्भिणी रासन, ब्याउने समयको रासन, लैनो अवस्थाको रासन र  ब्याडे बङ्गुरको रासन फरक फरक हुन्छ।

तलका तस्बिरहरूमा त्यी रासन केके हुन् भन्ने जानकारी दिइएको छ:

 

खोर कसरी बनाउने ?

बङ्गुर पालन गर्ने हो भने खोरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। सामान्यतया बाँस, सिमेन्टका ब्लकहरू, काठ र टिनका छानाहरूले छाएर खोर बनाउन सकिन्छ। पाठाहरु, ब्याउने बङ्गुर, वीरहरूलाई छुट्टाछुट्टै खोरमा राख्न्नुपर्ने हुन्छ। बिरामी बङ्गुर र अरू बङ्गुरहरूलाई पनि छुट्टाछुट्टै खोरमा राख्नुपर्छ। खोर बनाउँदा खोरको उचाइ लगभग १ मिटर अग्लो हुनुपर्छ। त्यस्तै पिसाब खोरबाट जमिन तीर सजिलैसँग जाने गरी टाँडहरु बनाउनुपर्छ। ब्याउने बङ्गुर राखिएको खोरमा तापक्रम २५ देखि २७ डिग्री सम्म राख्नुपर्ने हुन्छ। बङ्गुरले आहारा खायो कि खाएन भनेर समयसमयमा जाँच गरिराख्नु पर्ने हुन्छ। खोरलाई समयसमयमा सफा गरिराख्नुपर्छ।

बङ्गुरले वीर खोजेको १८ घण्टा भित्र वीर लगाउनु पर्छ। पहिलो पटक वीर लगाएको १२ घण्टा पछि नै अर्को पटक फेरी वीर लगाउने हो भने धेरै पाठा पाठी जन्मन सक्ने सम्भावना हुन्छ। पाठा जन्मिएपछि माउको थुन सफा गरी पाठाहरूलाई तुरुन्तै चुस्न दिनुपर्छ। भर्खर जन्मिएका बङ्गुरका पाठापाठीहरुमा फलामको मात्रा निकै कम हुन्छ। शरीरमा फलामको मात्रा बढाउनका लागि र रक्त अल्पता हुनबाट बचाउनका लागि ३ हप्ता सम्म जङगलको सफा कालो र रातो माटोको पेस्ट बनाएर माउको स्तन वरिपरि लगाइदिनु पर्छ। पाठा पाठी जन्मेको दिन पुच्छर आधा हुने गरी काटिदिनुपर्छ। पाठाहरू एकअर्कासँग जुधेर घाउ पार्ने, माउको थुन टोकिदिने जस्ता समस्या आउने भएका कारण यसका अगाडिका ४ वटा दाँत पनि जन्मिएपछि निकाल्नुपर्छ।

यसको व्यापार कस्तो छ?

यसको व्यापार दुई किसिमबाट गरिएको भेटिन्छ। पाठा पाठी बेचेर अथवा मासु बेचेर। यसको मासु प्रति के.जी ३५० देखि ४०० अथवा ४५० जति भाउमा बेचिने गरेको पाइन्छ। उत्पादनपछि स्थानीय रूपमा पनि यसको व्यापार गर्न सकिन्छ। धेरै मात्रामा बिक्री हुन गएमा एउटा सानो मासु पसल खोलि त्यहाँबाट पनि मासुको व्यापार गर्न सकिन्छ।

बङ्गुरको मासुको देशमा मात्र नभएर विदेशमा पनि ठुलो माग रहेको पाइन्छ। छिटै बढ्ने र छोटो समयमा नै आफ्नो सङ्ख्या बढाउन सक्ने जात भएका कारण अरू जनावर भन्दा यसबाट धेरै लाभ लिन सकिन्छ। देशका राई, लिम्बु, तामाङ, गुरुङ आदि जस्ता समुदायमा बङ्गुरको मासु निकै खपत हुने गरेको पाइन्छ। छिमेकी मुलुक चीनमा पनि यसको धेरै खपत हुने गरेको छ। त्यस कारण यसलाई देशमा मात्र नभएर विदेशमा समेत निर्यात गरी राम्रो आम्दानी गर्न सकिन्छ। देशमा यसको सम्भावना धेरैले देखेका कारण यस व्यवसायमा संलग्न हुने व्यक्तिहरूको सङ्ख्या बढ्दो छ। अहिले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई पनि यस व्यवसायले तानिरहेको अवस्था छ। यो व्यवसायबाट मासिक ५ लाख रुपैयाँ आम्दानी गर्ने व्यक्तिहरू पनि हाम्रै समाजमा छन्।

स्रोत: यो लेख बङ्गुर पालन सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न सामग्रीहरू अध्ययन गरी तयार पारिएको हो।

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img