Photo Source : HIGHTOP® Chicken Cage

शारिरलाई चाहिने धेरै पौष्टिक तत्वहरु पाइने, छिट्टै तयार गर्न सकिने, स्वादमा पनि मिठो र थरि थरि परिकार बनाउन मिल्ने भएका कारण बजारमा अण्डाको धेरै माग हुने गरेको छ। यस कारण नेपालमा अण्डा उत्पादन सम्बन्धि व्यावसायिक सम्भावना पनि निकै राम्रो हुन सक्छ।

त्यसमा पनि ‘लेयर’ जातको कुखुरा व्यापारिक रूपमा अण्डा उत्पादन गर्न सक्ने कुखुरा हो। एकै सालमा एउटा कुखुराले बढीमा ३०० वटा सम्म अण्डा पारेको भेटिन्छ। त्यसैले अण्डा उत्पादन सम्बन्धि व्यावसाय गर्न चाहनेले लेयर कुखुरा पालेर राम्रो आम्दानी गर्न सक्छ।

व्यापारका लागि कस्ता प्रजातिका कुखुरा राम्रा हुन्छन् ?

  • वाइट लेगहर्न
  • कलिङ्गा ब्राउन
  • केरी गोल्ड
  • रङ्गिन लेयर

चल्ला कहाँबाट ल्याउने र कसरी हेरचाह गर्ने?

नेपालको विभिन्न ठाउँहरुमा ह्याचरीहरुको स्थापना भएको पाइन्छ जहाँ चल्लाहरु सजिलै पाउन सकिन्छ। अझ विशेष गरेर चितवनमा यस्ता ह्याचरीहरु प्रशस्त रुपमा भेटिन्छन्। यिनै ह्याचरीमार्फत प्रति चल्ला १०० देखि १५० रुपैयाँसम्ममा किनेर ल्याउन सकिन्छ।

शुन्य देखि पाँच दिनसम्मका चल्लाहरु खरिद गर्नुभएको छ भने चल्लाहरुलाई इलेक्ट्रोलाइट, गुल्कोज र भिटामिनको प्रयोग गर्न आवश्यक हुन्छ। चल्लाहरूलाई न्यानो राख्न पनि उत्तिकै जरुरी हुन्छ। यसका लागि ‘ब्रुडर’ अर्थात् कृतिम रुपमा न्यानो बनाउने प्रविधिको व्यवस्था मिलाउनुपर्छ। ब्रुडीङ ९५ डिग्री फरेनहाइटमा सुरु गर्नुपर्छ र प्रत्येक हप्ता ५ डिग्री फरेनहाइट घटाउँदै अन्त्यमा ७० डिग्री फरेनहाइटमा राख्नुपर्छ। ब्रुडीङको समयमा निरन्तर बिजुली उपलब्ध गराउनुपर्छ। बत्ती दिनमा १२ घण्टाबाट सुरु गर्नुपर्छ र १६ घण्टा नपुगेसम्म प्रत्येक हप्ता १५ देखि ३० मिनेट बढाउँदै जानुपर्छ।

खोरको व्यवस्थापन कसरी गर्ने ?

खोरका लागि सबैभन्दा पहिला पर्याप्त जमिनको छनौट गर्नुपर्छ। यस्तो जमिन मानव बस्ति भन्दा टाढा भए दुर्गन्ध तथा रोग नफैलिने सम्भावना बढी हुन्छ। खोर बनाउँदा लामो धुरीको साथ खोर पूर्वदेखि पश्चिमको दिशामा फर्किएको हुनुपर्छ। यसो गर्दा घामको किरण र उज्यालो खोरभित्र पर्याप्त मात्रामा पुग्न सक्छ। खोरको उचाइ ३ मिटर हुनुपर्छ। खोर बनाउनका लागि स्थानीय रूपमा पाइने सामाग्री जस्तै बाँस, माटो र छानाको लागि भने फाइबरको च्यादर, खर/ चित्रा आदिको प्रयोग गर्न सकिन्छ।

खोरका लागि सफा पानीको राम्रो व्यवस्था मिलाउनुपर्छ किनभने कुखुरालाई समय-समयमा पानी दिनु आवश्यक हुन्छ। पानी दिनका लागि खोर निर्माण गर्दा ड्रीन्करजस्ता प्रविधिको जडान गर्न जरुरी हुन्छ। त्यस्तै उचित तापक्रम बनाइ राख्नका लागि ब्रुडीङ प्रविधि पनि जडान गर्नुपर्ने हुनसक्छ। यसका लागि बिजुलीको समेत व्यवस्था गर्नु पर्ने हुन्छ। त्यसैगरी खोर हावादार बनाउन निकै जरुरी हुन्छ। भुईँ सिमेन्टको बनाएर पानी नछिर्ने व्यवस्था मिलाउनुपर्छ।

कुखुराको व्यवस्थापन कसरी गर्ने?

सामान्य हेरचाह

ओस सोस्न र कुखुरालाई आराम दिनका लागि ५ सेन्टिमिटर बाक्लो सोत्तर हाल्नुपर्छ। आराको भुस, धानको भुस, मसिनो पारेर काटेको पराल आदिलाई सोत्तरको रूपमा प्रयोग गर्न सकिन्छ। अण्डा पार्नका निम्ति गुड अथवा बक्सा उपलब्ध गराउनुपर्छ। अण्डा पार्ने गुडमा सफा विछौना सामाग्रीको प्रयोग गर्नुपर्छ।

दानापानी

कुखुरा उत्पादनका लागि सबैभन्दा बढी लगानी नै चारोमा हुन्छ जसको प्रभाव मुख्य रूपमा उत्पादनमा पर्छ। त्यस कारण दानापानी खुवाउँदा विशेष ध्यान दिनुपर्छ। चारोमा सबै प्रकारको पौष्टिक तत्त्वहरू (कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल्स र भिटामिन) पनि सही मात्रमा हुनु जरुरी छ।

मकै, गहुँ, जौ, कोदो, ढुटो, खुदो, आलु, तरुल, पिँडालु, कनिका, गीठा, स्कुस, तेल, बोसो आदि शक्तिवर्द्धक खाद्यपदार्थ हुन् । यसले कुखुराकोे शरीरलाई आवश्यक शक्ति र ताप प्रदान गर्छ ।केराउ, सिमी, मास, भटमास, बोडी, तोरीको पीना, बदामको पीना, माछा र मासुको धूलो, वधशालाबाट निस्कने चिजबिज आदि शारीरिक वृद्धि र विकास गराउने आहारा हुन् ।  हरियो घाँसपात (कोसेघाँसहरू, सखरखण्डका टुप्पा, स्कुसको मुन्टा आदि), सिपी, चुनढुङ्गा बोन मील भिटामिन र खनिज तत्त्वको प्रचुर स्रोत भएकाले कुखुराकोे आहारामा यी कुराहरू समावेश गराउनु राम्रो हुन्छ । यी आहारका साथै कुखुरालाई प्रशस्त मात्रामा सफा पानी दिनुपर्छ।

हिजोआज व्यवसायिक रुपमा चारोको उत्पादन गर्ने कम्पनिहरु सजिलै पाउन सकिन्छन्। उनीहरुको माध्यमबाट चारोको खरिद गर्दा माथि उल्लेखित सबै वस्तुहरु आफैले जुटाउनुपर्ने झन्झट हुदैन भने कुन वस्तु कति मात्रामा मिसाउनुपर्ने भनि थाहापाइराख्नु पर्दैन। यो सबै मिलाएर नै राखिएको हुन्छ साथै यसरी खरिद गरिएको चारोमा अतिरिक्त पाचन र विकासका लागि चाहिने वस्तु पनि हालिएका हुन्छन्।

रोगबाट बचाउने तरिका

अण्डा दिने कुखुरा (लेयर्स) लाई विभिन्न प्रकारको रोगले प्रभाव पार्न सक्छ जो जीवाणु, कीटाणु, ढुंडी आदिबाट हुनसक्छ। रानीखेत, मरेक्स रोग, कोलीबेसिलोसीस, हेल्मिन्थिक रोगहरू, कोकसीडीयोसिस आदि रोगहरूले लेयर्स कुखुरालाई प्रभाव पार्न सक्छ।

स्वास्थ्यको राम्रो व्यवस्था गर्नका निम्ति समयमै आवश्यक खोपहरू लगाउनुपर्ने हुन्छ। रोग लागेको कुखुराले अरूमा रोग फैलाउँछ भने रोग लागेका कुखुराहरूको नाश गरेकै ठीक हुन्छ। रोगको रोकथाम गर्नका लागि नजिकैको पशु चिकित्सा केन्द्रमा सम्पर्क गर्नुपर्छ।

उत्पादन सम्बन्धि व्यवसायको व्यावसायिक सम्भावना कस्तो छ ?

थोरै लगानीले धेरै आम्दानी गर्न सकिने व्यवसाय मध्ये यो पनि एक हो। १०० वटा चल्लाहरुबाट सुरु गर्ने हो भने करिब २ देखि ३ लाखसम्मको लगानी आवश्यक पर्छ र मासिक कम्तिमा २० देखि २५ हजार आम्दानी गर्न गार्हो पर्दैन। मासु तथा अण्डा दुवैका लागि बिक्री गर्न सकिने भएकाले यसबाट दोहोरो फाइदा लिन सकिन्छ।

पहिले चाडबाडमा मात्र खपत हुने, कुखुराको मासु र अण्डा अहिले लगभग हरेक घरमा दिनहुजसो पाक्छ। त्यसैले हुनसक्छ अण्डाका लागि ५ देखि १० वटा लेयर्स खरिद गरी घरमै पाल्ने व्यक्तिहरू पनि भेटिन्छन् । यसो हुँदा बजारमा यसको बिक्री गर्न त्यति गाह्रो पर्दैन।

स्थानीय बजारहरुमा साइकलमै डुलाइ बाटो छेउका पसलहरु र बाटो हिड्ने मानिसहरुलाई अण्डाको बेचबिखन गर्ने गरेको उदाहरण पनि प्रशस्त भेटिन्छन् भने स्थानीय हाटबजार होस् या मेलाहरुमा फिजाई पनि यसको बिक्री गर्न सकिन्छ।

त्यस्तै स्थानीय बिहेबटुलो तथा विभिन्न चाडपर्वमा धेरै खाना पकाउनु पर्ने क्याटरिङ्ग होस् वा होटल, होस्टेल तथा रेस्टुराहरु हुन् , उनीहरुसँग सम्पर्क गरि उत्पादित को निरन्तर बिक्री गर्न सकिन्छ।

यसैगरी मासु तथा को बिक्री वितरण गर्ने ठूला कम्पनिहरुले त झन हिजोआज फर्म मै आएर पनि यसको खरिद गर्ने गरेको पाइन्छ । उत्पादन धेरै भएको खण्डमा यस्ता कम्पनीलाई सम्पर्क गरी माग अनुसारको अण्डा पुर्याउन पनि सकिन्छ भने स्थानीय स्तरमा आफैले सानो एउटा मासु तथा को पसल खोलेर पनि यसको बिक्री गर्न सकिन्छ। 

आर्थिक वर्ष २०७२/७३ को तथ्यांक अनुसार देशमा १,२९४ मिलिअन अण्डा उत्पादन भएको थियो। सोही तथ्यांक अनुसार २९४ मिलिअन अण्डाको बिक्री पनि भएको देखिन्छ भने दैनिक २.२ मिलिअन अण्डा उत्पादन भएको र कुल उत्पादनको ४५% चितवनमा मात्र भएको पाइन्छ। थप जानकारीका लागि नेपाल इन डाटाद्वारा तयार पारिएको तथ्यांक चित्र हेर्नुहोस् :

धेरै समयदेखि भक्तपुरमा अवस्थित खायमाली फर्म खोलि लेयर्स पालेर अण्डा बेच्दै आउनुभएका विष्णुप्रसाद खायमालीसंग उद्यमी नेपालले गरेका कुराकानी हेर्नका लागि तलको युट्युब भिडियो खोल्नुहोस् :

II

स्रोत; यो लेख इन्टरनेटका विभिन्न सामाग्रीहरुको अध्ययन गरि तयार पारिएको हो। लेयर्स पालन सम्बन्धि थप जानकारीका लागि दिइएको लिंक खोल्नुहोस्।

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img