सूचना प्रविधि र इन्टरनेटको विकास सँगै आजको दिनमा व्यवसाय गर्नेले ग्राहकलाई कुरेर एउटा पसलको कुनामा दिनभर बस्नुपर्ने अवस्था छैन। मानौँ इन्टरनेटले दिएका सुविधाहरू एउटा ठुलो बजार हुन् र त्यसका प्रयोगकर्ताहरू त्यसका ग्राहक। इन्टरनेट मार्केटिङको प्रयोगबाट अब जो कोही घर मै बसी केही क्लिकमै करोडौँ ग्राहक माझ पुग्न सक्ने जमाना आई सकेको छ।

नेपाल कै कुरा गर्ने हो भने एक तथ्याङ्कका अनुसार अहिले करिब १ करोड ६२ लाख नेपालीले इन्टरनेट चलाउँछन्। त्यस्तै अनलाइन सामान किनबेच अथवा अनलाइन सपिङ गर्नेहरू पनि प्रशस्तै छन्। त्यस कारण तपाईँले इन्टरनेटको सहयोगबाट ग्राहक बनाउन सक्नुहुन्छ।
सजिलोको लागि इन्टरनेटमा अहिले विभिन्न वेबसाइटहरू छन् जसमार्फत तपाईँले आफ्ना सामानहरू सजिलै बेच्न सक्नुहुन्छ। जस्तै: www.hamrobazar.com , www.biznepal.com , www.nepbay.com  ,www.everestkart.com आदि। यी वेबसाइटहरूको सहयोग लिएर ग्राहकको ठुलो समूहसम्म पुग्न सकिन्छ।

यी वेबसाइटहरू मध्ये हाम्रो बजार ( www.hamrobazar.com ) अरू भन्दा अलि बढी लोकप्रिय छ।आज हामी यसबाट कसरी सामान बेच्न सकिन्छ त? भन्ने विषयमा छलफल गर्ने छौँ।

के हो हाम्रो बजार डट कम (hamrobazar.com)?
हाम्रो बजार आफ्ना नयाँ तथा पुराना सामानहरू किन्न तथा बेच्न सकिने एउटा वेबसाइट हो। यहाँ आफ्ना सामानका फोटो तथा सामानका बारेमा विस्तृत विवरण राख्न सकिन्छ। यसरी हाम्रो बजारमा सामान राख्दा कुनै पैसा लाग्दैन।
यो वेबसाइट हरेक महिना ४ लाख नयाँ व्यक्तिहरूले खोल्ने गरेको तथ्याङ्क पनि पाइएको छ।

हाम्रो बजारबाट कसरी सामान बेच्ने?

आफ्नो नाम दर्ता गर्नुहोस्

  • सबैभन्दा पहिला सर्च बारमा गएर www.hamrobazar.com टाइप गर्नुहोस्।
  • हाम्रो बजार भित्र आफ्नो दायाँ पट्टि माथिल्लो भागमा रहेका अप्सनहरु मध्ये दोस्रो अप्सन रेजिस्टर (Register) मा थिच्नुहोस्।
  • त्यसपछि तपाईले एउटा फारम देख्न सक्नुहुन्छ। त्यहाँ यी निम्न कुराहरु भर्नुपर्ने हुन्छ:
    • इमेल ठेगाना (Email address): दिइएको बक्सामा आफ्नो सही इमेल ठेगाना भर्नुहोस्।
    • पुनः इमेल ठेगाना (Retype email address): यस बक्समा माथि लेख्नुभएको इमेल ठेगाना फेरी लेख्नुहोस्।
    • पूरा नाम (Full name): यसमा आफ्नो पूरा नाम लेख्नुहोस्।
    • पासवर्ड (Password): यहाँ आफ्नो इमेल ठेगानाको पासवर्ड लेख्नुहोस्।
    • कन्फर्म पासवर्ड (Confirm password): यहाँ माथि लेख्नुभएको पासवर्ड फेरी लेख्नुहोस्।
    • फोन (Phone): यहाँ तपाईको फोन नम्बर लेख्नुहोस्।
    • मोबाइल फोन (Mobile Phone): यसमा तपाईको मोबाइल नम्बर लेख्नुहोस्।
    • ठेगाना १ (Address 1, street name) :यहाँ तपाई बस्ने टोलको नाम राख्नुहोस्। जस्तै: खोल्चा पोखरी
    • ठेगाना २  (Address 2, Area Location): यहाँ तपाई बस्ने ठाउँको नाम राख्नुहोस्। जस्तै: पाटन
    • ठेगाना ३  (Address 3, City name): यहाँ तपाई बस्ने गाउँ अथवा सहरको नाम राख्नुहोस्। जस्तै: ललितपुर
    • सेक्युरिटी कोड: यहाँ तपाईका लागि एउटा बक्सामा विभिन्न अंग्रेजी अंक तथा अक्षरहरु दिइएका हुन्छन्। यसको ठिक तल पट्टि एउटा खाली बक्स हुन्छ। तपाईले त्यस बक्समा माथिको बक्सामा भएका अंग्रेजी अंक तथा अक्षरहरु जस्ताको त्यस्तै टाइप गर्नुहोस्।
    • अन्तिममा मैले सबै प्रक्रियाहरु पढे र म यसमा सहमत छु ( I have read and agree to terms and use) लेखिएको अगाडी सानो बक्स हुन्छ। त्यहाँ थिच्नुहोस् र त्यसपछि रेजिस्टर (Register) लेखिएको बक्समा क्लिक गर्नुहोस्।

खाता भेरीफाइ गर्नुहोस्

इमेल भेरीफाइ:

  • अब तपाईले कोड लेख्नका लागि एउटा बक्स देख्न सक्नुहुन्छ। कोड तपाईले इमेल मार्फत हेर्न सक्नुहुनेछ। इमेल खोल्नुहोस्, हाम्रो बजारबाट तपाईलाई एउटा कोड आउछ र त्यो कोडलाई बक्समा लेख्नुहोस् र Click here to continue लेखिएको ठाउँमा क्लिक गर्नुहोस्।
  • त्यसपछि तपाईले स्क्रिनमा मेम्बर लगइन (Member login) शिर्षक देख्न सक्नुहुन्छ, त्यस शिर्षक तल आफ्नो इमेल ठेगाना र पासवर्ड लेख्न खाली ठाउँ हुन्छ। आफ्नो इमेल र पासवर्ड टाइप गर्नुहोस्।

मोबाइल नम्बर भेरीफाइ:

  • अब तपाईको इमेल भेरीफाइ भैसक्यो तर तपाईको मोबाइल नम्बर पनि भेरीफाइ गर्नुपर्ने हुन्छ। यसका लागि आफ्नो बायाँपट्टिको अप्सनहरुमा मेम्बर एरिया (Member Area) मा थिच्नुहोस्। त्यसपछि मोबाइल फोन रेजिस्टर (Mobile phone register) मा क्लिक गर्नुहोस्। अब स्क्रिनमा जेनेरेट कोड (Generate Code) अप्सन देख्न सकिन्छ, त्यस अप्सनमा क्लिक गर्नुहोस्।
  • अब स्क्रिनमा एउटा कोड दिइएको हुन्छ, त्यो कोडलाई आफ्नो मोबाइल (आफूले फारम भर्दा टाइप गरेको नम्बर) बाट एस.एम.एस (SMS) मार्फत पठाउनुहोस्।
  • केहि समयपछि तपाईको इमेलमा तपाईको मोबाइल नम्बर भेरीफाइ भएको सन्देश आउछ।

समानको बिज्ञापन पोस्ट गन्रुहोस्

  • अब तपाईले आफ्ना सामानहरु हाम्रो बजारमा सजिलै राख्न सक्नुहुन्छ। सामान राख्नका लागि आफ्नो बायाँपट्टिको अप्सनहरु मध्ये Post New Ad अप्सनमा थिच्नुहोस्।
  • तपाईले बेच्न खोज्नुभएको सामान कुन विषय (Category) भित्र पर्छ, खोज्नुहोस् र त्यस अप्सनमा क्लिक गर्नुहोस्।
  • त्यसपछि यी निम्न कुराहरु भर्नका लागि खाली ठाउँ देख्न सकिन्छ:
    • शिर्षक राख्नुहोस् (Add title): खाली ठाउँमा तपाईले बेच्ने सामाग्रीको नाम लेख्नुहोस्।
    • विस्तृत विवरण (Description): सामानको विस्तृत रुपमा जानकारी लेख्नुहोस्।
    • तपाईको विज्ञापन कति दिनसम्म राख्न चाहनुहुन्छ? (How many days do you want your add to run)?: यसका लागि तपाईलाई अप्सन दिईएको हुन्छ। तपाईले कति दिनका लागि सामानको विज्ञापन गर्न चाहनुहुन्छ त्यति दिन, हप्ता वा महिना छान्न सक्नुहुन्छ।
    • मूल्य (Price): सामानको मूल्य बुझिने गरि राख्नुहोस्।
    • मूल्य थपघट (Price negotiable): तपाईले तोक्नुभएको मूल्य निश्चित हो कि थपघट हुन सक्छ भन्ने जानकारीका लागि दुई वटा अप्सनहरु दिइएको हुन्छ। निश्चित हो भने Fixed price र थपघट हुन सक्छ भने Yes मा थिच्नुहोस्।
    • सामाग्रीको अवस्था (Condition): तपाईले नयाँ, पुरानो लगायतका अप्सनहरु देख्न सक्नुहुन्छ। सामान नयाँ हो वा पुरानो सोहि अनुसारको अप्सनमा क्लिक गर्नुहोस्।
    • कति चलाइयो (Used for): सामान कति समय चलाइएको छ अप्सन हेरी छान्नुहोस्।
    • होम डेलीभरि (Home delivery): तपाईले बेच्ने सामान ग्राहकको घरसम्मै पुर्याउनु हुन्छ या हुदैन? Yes वा No अप्सनमा क्लिक गर्नुहोस्।
    • डेलिभरी एरिया (Delivery Area): तपाईले तपाईको सहरमा मात्र सामान डेलिभरी गर्नुहुन्छ कि नेपाल भरि नै गर्नुहुन्छ? सही अप्सन छनौट गर्नुहोस्।
    • डेलिभरी चार्ज (Delivery Charges) : डेलिभरी गर्नुहुन्छ भने डेलिभरी गरेको पैसा कति लिनुहुन्छ, लेख्नुहोस्।
    • वारेन्टीको किसिम (Warranty type): बेच्ने सामान तपाईले आफै उत्पादन गर्नुभएको हो अथवा किनेर डिलरका रुपमा बेच्दै हुनुहुन्छ या एक्लै रुपमा बेच्दै हुनुहुन्छ सोही अनुसारको वारेन्टी अप्सनमा क्लिक गर्नुहोस्।
    • वारेन्टी इनक्लुड्स (Warranty includes): यहाँ सामाग्रीको वारेन्टीका बारेमा विस्तृत जानकारी दिनुहोस्।
    • अब अन्तिममा Submit ad अप्सनमा क्लिक गर्नुहोस्।
  • त्यसपछि सामानको आकर्षक फोटो खिची अपलोड (upload) गर्नुहोस्।
  • अब हाम्रो बजार चलाउने व्यक्तिहरुले तपाईको सामानको विज्ञापन देख्न सक्छन्।

यसरी आफ्ना सामानहरु हाम्रो बजारमा राखी आफ्नो ग्राहक समूह बढाउन सकिन्छ। हाम्रो बजारमा गरिएको आफ्नो पोस्टलाई फेसबुकमा सेयर गरि आफ्ना साथीहरु माझ पुर्याउन पनि सकिन्छ।

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img