अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको कृषि पर्यटन प्रवद्र्धन, दुर्लभ वैदेशिक मुद्रा आर्जन तथा कृषकवर्गको जीवनस्तर उठान हुनु हो ।  वैज्ञानिक नाम ‘इलेटेरिया काडाम’ ले चिनिने ठूलो अलैंची विश्वकै पुरानो मसलाजन्य बाली मानिन्छ । अलैंची मसलाजन्य समूहको तेस्रो मूल्यवान् बाली पनि हो । अलैंचीका लागि ७ सय मिटरदेखि २२ सय मिटरको उचाइ, ८ देखि २० सेन्टिग्रेटको तापक्रम, १५ सयदेखि २५ सय मिलिमिटरसम्मको वर्षा, ओरालो, ओसिलो र मलिलो माटो अलैंचीका लागि उपयुक्त मानिन्छ ।

खोल्सा–खोल्सी, सिम, खर–खर्यान, बारीको डिलमा मात्र होइन; चाँप, कटुस, चिलाउनेको रूखमुनि समेत उत्पादन गर्न सकिने अलैंचीलाई खोल्साको सुन अथवा कालो सुनका रूपमा पनि अथ्र्याउने गरिन्छ । भोजन स्वादिष्ट बनाउन, सुगन्धित सामग्री तयार गर्न, विभिन्न प्रकारका रसायन तथा औषधि तयार गर्न उपयोगमा आउने अलैंची मसलाको रानी अर्थात् ‘क्विन अफ स्पाइस’ को नामले प्रख्यात छ । अलैंची रङ, आकार र प्रयोगका आधारमा ठूलो र सानो गरी मूलतः दुई प्रकारको हुन्छ । तीमध्ये नेपालमा ठूलो अलैंची अर्थात् ब्ल्याक कार्डमम मात्र उत्पादन हुन्छ । ठूलो अलैंचीले विश्व बजारमा नेपाली अलैंचीको नामले पहिचान बनाएको छ । 

ठूलो अलैंचीको मूल थलो भने सिक्किम हो । वि.सं. १९७६ बाट नेपालमा अलैंची रोप्न थालिएको भए तापनि २०१५ बाट मात्र व्यावसायिक उत्पादन हुन थालेको हो। अलैंचीको उत्पादन वृृद्धि र निर्यात प्रवद्र्धनका लागि वि.सं. २०३२ मा अलैंची विकास केन्द्र स्थापना भएको थियो । 

अहिले ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम, धनकुटा, गोरखा, सोलुखुम्बु, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, उदयपुर, कास्की, दैलेख, सल्यान, अछाम, बैतडीलगायत ४१ जिल्लामा अलैंची खेती विस्तार भएको छ । यस खेतीबाट २२ हजार घरधुरीका ७० हजार कृषक लाभान्वित छन् । कुल उत्पादनको ८० प्रतिशत हिस्सा ताप्लेजुङ, संखुवासभा, तेहेरथुम , इलाममा मात्र उत्पादन भइरहेको छ ।

ताप्लेजुङको कुरा गर्ने हो भने आव ०७३/७४ मा ५ हजार १ सय हेक्टरमा २ हजार ४ सय टन अर्थात् ६ अर्बको अलैंची उत्पादन भएको छ । आव ०७१/७२ मा १२ हजार ४ सय ५८ हेक्टर जमिनमा अलैंची उत्पादन भएकोमा आव ०७३/७४ मा ४ हजार १ सय ८४ हेक्टर थप भई १६ हजार ६ सय ४२ हेक्टर पुगेको छ । आव ०७१/७२ मा ५ हजार १ सय ६६ मेट्रिक टन उत्पादन भएकोमा आव ०७३/७४ मा १२ हजार ८ सय ४७ मेट्रिक टन पुगेको छ । यसरी प्रतिहेक्टर उत्पादकत्व ०.४१ मेट्रिक टनबाट ०.७७ मेट्रिक टन पुगेको छ । त्यसो त ठूलो अलैंची नेपालबाहेक भारत, भुटान, श्रीलंका, मलेसिया र ग्वाटेमालामा मात्र उत्पादन हुन्छ । तथापि अलैंची उत्पादनमा नेपालले सबै मुलुकलाई पछाडि पारेको छ । सन् २०१६ मा विश्वको कुल उत्पादनमा नेपालको एकल हिस्सा ६८ प्रतिशत हुँदा भारतले २२ प्रतिशत र भुटानले ९ प्रतिशतमा चित्त बुझाउनुपरेको थियो । उत्पादित अलैंचीको ९८ प्रतिशत निर्यात भइरहेकोमा त्यसको ८० प्रतिशत भारत केन्द्रित छ । २० प्रतिशत हिस्सा मात्र दक्षिण एसिया, मध्यपूर्व, युरोपमा हुने गरेको छ । यस हिसाबले अलैंचीको देशगत विविधीकरण कमजोर छ ।

अलैंचीको वास्तविक मूल्य नियन्त्रण कृषकको हातमा हुनुपर्नेमा थोक विक्रेता र दलालको हातमा छ । सस्तोमा अलैंची खरिद गरी भण्डारण गरेर महँगोमा बिक्री गर्ने बिचौलियाको कुनै अभाव छैन । अलैंचीको मूल्य माग र आपूर्तिका आधारमा हुनुपर्नेमा खरिदकर्ताको निगाहमा निर्धारण भइरहेका छ । बिना श्रम लगानी गरेकै भरमा बिचौलियाले अनुचित लाभ उठाइरहेका छन् ।

त्यसो त अलैंची उच्च मूल्य अभिवृद्धि गर्न सकिने नगदे बाली हो । अलैंचीबाट तेल, मिठाई, केक, पेस्टीजस्ता परिकार मात्र बनाउन सकिँदैन, सिरप, सस्पेन्सन, ट्याब्लेट, इन्जाइम्सजस्ता औषधि निर्माण गर्न सकिन्छ । मिक्सिङ वा प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न सकिने थुपै्र गुन्जाइस हुँदाहुँदै पनि कोरा अलैंची निर्यात भइरहेको छ । छिमेकी भारतमा पुगेपछि प्रोसेसिङ, प्याकिङ र लेबलिङ गरी महँगो मूल्यमा ट्यागिङ हुने गरेको छ ।

अलैंचीको मूल्य स्थायित्व कायम हुन नसकिरहेको अवस्था छ । अलैंचीको मूल्य पछिल्लो दुई वर्षयता ओरालो लागिरहेको छ । दुई वर्षपूर्व प्रतिमन (४० केजी) १ लाख १० हजार हात लगाएका कृषकहरूले अहिले आधाभन्दा कम मूल्यमा चित्त बुझाउनुपरेको छ ।

 कुनै पनि वस्तुको ट्रेडमार्क प्राप्त हुनु भनेको वस्तुप्रतिको विश्वसनीयता कायम हुनु वा निर्धक्कसम्म प्रयोग गर्न सक्नु हो । तर, अलैंचीको ट्रेडमार्क दर्ता हुन नसक्दा मिसावटको समस्या झेल्नुपरेको छ । अधिकांश अलैंची उत्पादक कृर्षकका लागि यातायातको संकट झेल्नु नियतिजस्तै भएको छ । तेह्रथुम, संखुवासभा, पाँचथर, भोजपुरमा उत्पादित अलैंची धरान, फिक्कल वा बिर्तामोडसम्म पुराउदा झेल्नुपरेको संकट निवारण गर्न राज्य उदासीन छ ।अलैंचीको ड्राइङ, प्याकेजिङ, वेयर हाउजिङ, ल्याब्रोटरी, मार्केट इन्फर्मेसन, प्रोडक्ट प्रमोसनको पाटो पनि त्यत्तिकै लुरे छ । अलैंची सुकाउने प्रविधि अझै परम्रागत ढर्राको छ । निर्यातमा विभिन्न किसिमका शुल्क, क्वारेन्टाइनको समस्या गढेको छ । अलैंचीको अनुसन्धान तथा विकासको ध्यान पुग्न सकेको छैन । यहाँसम्म कि उच्च सम्भावनायुक्त बाली भईकन पनि आव ०७४/७५ को बजेट नीति तथा कार्यक्रममा अलैंची खेती प्रवद्र्धनका खातिर एक वाक्यांशसमेत खर्चिएको छैन ।

 अलैंचीका लागि आवश्यक पर्ने धरातलीय बनावट, माटोको प्रकृति, हावापानी, वर्षाको मात्रा नेपालजस्तो अन्य कुनै मुलुकमा पाउन दुर्लभ छ । कृषकको जीवनस्तर उठान गर्न, बढ्दो व्यापारघाटा कम गर्न, मन्द गतिको आर्थिक वृद्धि उठान गर्न अलैंची खेती कोसेढुंगा साबित हुनेमा कुनै शंका छैन । स्मरण रहोस्, अलैंचीको व्यावसायिक उत्पादन वृद्धि हुनु भनेको कृषि पर्यटन प्रवद्र्धन, दुर्लभ वैदेशिक मुद्रा आर्जन तथा कृषकवर्गको जीवनस्तर उठान हुनु हो ।

भिरालो, ओसिलो र सिमसार जमिनमा समेत बाली फस्टाउन सक्नु, रोपेको तीन वर्षमा उत्पादन दिनु, अरू तीन वर्षसम्म घट्दो क्रममा भए पनि उत्पादन भइरहनु, उत्पादनका लागि आगत (इनपुट) कम लाग्नु, उत्पादनको अधिकांश हिस्सा निर्यात हुनु, बिक्री उच्च मूल्यमा गर्न सकिनु, थोरै लगानीमा अधिक प्रतिफल प्राप्त हुुनु, विश्व बजारमा प्रतिस्पर्धी अत्यन्त नगन्य हुुनु नेपालको अलैंचीमा निहित असीम सम्भावनाहरू हुन् ।

तथापि एकीकृत बजार रणनीति, २०१० मा सूचीकृत १९ निकासीमूलक वस्तुहरूमध्ये कृषि उपसमूहको सर्वाधिक निर्यात सम्भावना बोकेको बाली भईकन पनि सम्भावनाअनुरूप अलैंची निर्यात वृद्धि हुन सकेको छैन । ०६७/६८ मा ३.५ अर्बको, ०६८/६९ मा ३.४९ अर्बको, ०६९/७० मा ३.८४ अर्बको, ०७०/७१ मा ४

author

.२७ अर्बको, ०७१/७२ मा ३.८३ अर्बको, ०७२/७३ मा ४.२७ अर्बको र ०७३/७४ मा ४.६१ अर्बको मात्र अलैंची निर्यात भएको छ । विगत सात वर्षको आँकडा नियाल्ने हो ०६७/६८ को तुलनामा ०७२/७३ मा १.११ अर्ब मात्र अतिरिक्त निर्यात हुन सकेको छ ।

यतिविधि सम्भावना बोकेको अलैंचीको निर्यातबाट वार्षिक ४/५ अर्ब मात्र हात लाग्नु, मूूल्य अभिवृद्धिको गर्न सकिने तमाम गुन्जाइस हुँदाहुँदै कोरा निर्यात हुनु, ट्रेडमार्क प्राप्त हुन नसक्नु, समर्थन मूल्य तोक्न नसक्नु वा बिचौलियाको बिघबिघि हुनु अलैंचीमा गढेका समस्याहरू हुन् । अलैंची उत्पादनमा विश्वकै नम्बर १ कहलिने मुलुकले सोअनुरूपको लाभ प्राप्त गर्न प्रस्तुत समस्याहरू चिर्नु आवश्यक छ । 

 ढुनबहादुर बुढाथोकी

यो लेख कारोबार दैनिकबाट लिइएको हो । मूल स्रोत हेर्न लिंक 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img