प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण लाग्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप जस्ता यी आदि रोगहरू खाना खान नपाएर भन्दा पनि खान नजानेर लागिरहेको हुन्छ। त्यसैले खाना मिलाएर खाने तरिकाका बारेमा जान्नुपर्छ।” उनी धरानमा रहेको न्युट्रीसन काउन्सिलिङ एण्ड रिसर्च प्राइभेट लिमिटेडकी सञ्चालक हुन्। उनी र दुई साथीहरू मिलेर खानाबाट रोगलाई नियन्त्रणमा राख्ने अथवा रोग नै लाग्न नदिने उद्देश्यका साथ यो कम्पनी सुरु गरेका हुन्। तीनै जना नेपालमा न्युट्रीसन र डायटेटिक्सका विद्यार्थी थिए। यो कोर्स नेपालमा नयाँ भएकाले न्युट्रीसन पढ्ने पहिलो ब्याच उनीहरू नै थिए। त्यसैले यसको स्कोप कस्तो छ भन्ने विषयमा कसैलाई थाहा थिएन। पढाइ सकेपछि के गर्ने भनेर सोच्दा सधैँ अन्योलमा पर्थे। दोस्रो र तेस्रो वर्ष पढ्दै गर्दा भने आफ्नै क्लिनिक खोल्नुपर्छ भन्ने सोच बनाउन थालेका थिए तर कसरी खोल्ने चाहिँ थाहा थिएन। 

पढाइ सकिएपछि भने आफै बाटाहरू बन्दै जान थाले। तीनै जनालाई बि.पी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा इन्टर्नको रूपमा काम गर्ने मौका जुर्‍यो। त्यही कामले नै उनीहरूको भविष्य निर्धारण गर्‍यो। धेरै बिरामीहरूसँग नजिक हुन पाए। भेट्ने र कुरा गर्ने क्रममा धेरैले खाना सँग सम्बन्धित आफ्ना समस्या सुनाउँथे। तिनको समाधान गर्न र बिरामीहरूको सेवा गर्न उनीहरू सबैले धेरै मेहेनत गरे। लामो समयको अनुभव र राम्रा प्रतिक्रियाहरू बटुलेपछि भने त्यही क्षेत्रमा व्यवसाय थाल्न आँट पलायो। 

इन्स्टिच्युटमा काम गर्दा एउटा निकै रमाइलो घटना घट्यो। एक महिना अघि देखि सुगरको मात्रा नमिलेर सर्जरी हुन नसकिरहेका एक बिरामी थिए। उनलाई डाक्टरले रोटी बाहेक अरू केही नखानु भनेका रहेछन्। खाना मिलाएर खान नदिए सर्जरी हुन नसक्ने भएपछि सबै जना समस्यामा थिए। बिरामीको अवस्था नाजुक थियो। ती बिरामीलाई दिने खानाको जिम्मा उनीहरूले नै लिए। संवेदनशील केस भएकाले निकै ठुलो चुनौती थियो।  सानो भन्दा सानो कुराहरूमा ध्यान दिए। सोही अनुरूप सुगर लेभल पनि बिस्तारै ठिक ठाउँमा आउन थाल्यो। बुधवार भेटेको उक्त बिरामीलाई उनीहरूले शुक्रवार नै सर्जरी गर्न योग्य बनाइदिए। त्यो सफलताले उनीहरूलाई हौस्यायो।डायट प्लान गरेर पनि रोगहरूको उपचार गर्न सकिने रहेछ भन्ने बुझे। आँट र विश्वास थपियो। सँगै कम्पनी सुरु गर्ने तरखर पनि सुरु भयो। 

१० लाखको लगानी जुटाएर कम्पनीको स्थापना भयो।  चाहिने उपकरण सबै नेपालमा नपाइने भएकाले विदेशबाट मगाउनुपर्थ्यो। त्यसैले बि.आइ.ए मेसिन (शरीरमा भएको फ्याट, प्रोटिन पत्ता लगाउने मेसिन), स्किनफोल्ड क्यालीपर (शरीरमा फ्याटको मात्रा नाप्ने मेसिन), तौल नाप्ने र अरू धेरै मेसिनहरू जुटाउन नै समय लाग्यो। तर सुरु भएपछि भने आफ्नै चिनजानका मानिसहरू ग्राहक बन्न थाले। अनलाइनबाट ग्राहक तान्नको लागि फेसबुक पेज खोले। त्यसरी कम्पनीका बारेमा थाहा पाउने धेरै मानिसहरू उनीहरूलाई भेट्न आए। बिस्तारै ग्राहकहरू बढ्न थाले। अहिले स्कुलहरू तथा कलेजहरूमा डायट प्लान सिकाउनको लागि  उनीहरूको माग बढ्दो छ।

उनीहरू ग्राहकलाई घरमा बनाएका खानाको सन्तुलन मिलाएर खानका लागि मद्दत गर्छन्। कम्पनीबाट अहिलेसम्म २५ देखि ३० जनाले सेवा लिइसकेका छन्। विशेषगरी २ किसिमका सेवाहरू दिने गरेका छन्। एउटा बेसिक एसेसमेन्ट र अर्को ३ महिने प्याकेज। बेसिक एसेसमेन्टमा बोसो, प्रोटिन आदिको मात्रा कति छ भनी जाँच गरेर सोही अनुसार बिरामीको डायट प्लान गरिन्छ। यो सेवा एक पटकका लागि मात्र पनि लिन मिल्छ। रु. ५०० मा नै यो सेवा लिन सकिन्छ। ३ महिने प्याकेजका लागि भने रु.७००० लाग्छ। उनीहरू न्युट्रीसन सम्बन्धी विभिन्न विधामा काम गरिरहेका छन्। तौल घटाउने, बढाउने, डायबिटिज, हाइपर टेन्सन, युरिक एसिड भएका बिरामीहरूले पनि यस कम्पनीबाट सेवा लिन सक्छन्। 

प्रियङ्का भन्छिन्, “हामी फिट रहनको लागि फिटनेस सेन्टरहरू धाउछौँ तर खानामा ध्यान दिदैनौँ। खाना नखाइ आफ्नै हिसाबले डायट गर्दा दुब्लाएको त देखिन्छ तर हाम्रो बोसोको तौल घट्नु पर्ने ठाउँमा शरीरको मासुको तौल घटिरहेको हुन्छ। त्यसैले एक पटक डायटिसियनसँग सल्लाह गर्नुभयो भने तपाईँको स्वास्थ्य पनि राम्रो हुन्छ र चाहेको परिणाम पनि पाउन सक्नुहुन्छ।”

उनीहरूले अहिले सन्तुलित तथा स्वस्थ खाना बेच्न न्युट्री क्याफे सुरु गरेका छन्। अब स्कुलमा पौष्टिक खाना राखेर लन्च बक्स पनि सप्लाइ गर्ने योजना रहेको छ।

न्युट्रीसन काउन्सिलिङ एण्ड रिसर्च प्राइभेट लिमिटेडकी सञ्चालिका प्रियङ्का पराजुलीसँग उद्यमी नेपालले गरेको कुराकानी हेर्नुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल