विश्व कै धनी व्यक्ति बिल गेट्स वर्षमा ५० भन्दा बढी किताबहरू पढ्छन्। त्यस्तै सेयर मार्केटका बादशाह भनिने वारेन बफेट दिनमा ६ घण्टा ५०० भन्दा बढी कर्पोरेट रिपोर्टहरू पढ्छन्। यी व्यक्तिको उद्देश्य ती किताब वा रिपोर्टबाट केहि सिकेर व्यवसायमा हुने गल्ति गर्नबाट बच्नु हो।

व्यावसायिक जीवनमा धेरै गल्तीहरू हुन सक्छन्। त्यस्ता गल्तीहरू सुधार्न वा कतिपय गल्तिबाट बच्न आत्मकथाहरूले धेरै मद्दत गर्छ। आत्मकथाले कुनै पनि व्यक्तिको जीवनकालमा घटेका अनेकौँ घटना साथै ती घटनाबाट अरूले सिक्न सक्ने महत्त्वपूर्ण पाठहरू समेटेको हुन्छ। विश्वका महान व्यवसायीको आत्मकथाबाट झन् धेरै कुरा सिक्न सकिन्छ।

यो लेखमा हामीले व्यवसाय गर्न चाहनेले पढ्नैपर्ने ५ व्यवसायीहरूको आत्मकथाहरू बारे जानकारी दिएका छौँ:

 १. स्टिब जब्स, द एक्सक्लुसिब बायोग्राफी 

एप्पल कम्पनीका संस्थापक स्टिब जब्सको आत्मकथा वाल्टर इश्याक्सनले लेखेका हुन्। इश्याक्सनले उक्त आत्मकथा ३ वर्ष लगाएर लेखेका हुन्। यस आत्मकथामा ग्यारेजबाट सुरु भएको कम्पनी टेक्नोलोजीको क्षेत्रमा संसारकै उत्कृष्ट कम्पनी बन्नसम्म घटेका कुराहरू समेटिएको छ। साथै पिक्सार र नेक्स्ट कम्पनीको स्थापनाको बारेमा पनि लेखिएको छ।जीवनीमा लेखकले स्टिब जब्स र विश्वको धनी व्यक्ति बिल गेट्सको सम्बन्धको बारेमा पनि लेखेका छन्।

 २. विनोद चौधरी, मेकिङ ईट बिग 

सी जी कम्पनीका संस्थापकको उक्त आत्मकथामा पारिवारिक कपडा व्यापारदेखि वाई वाई, बैङ्क, बिमा, हाउजिंग लगायत अन्य क्षेत्रमा विविधीकरणको बारेमा विस्तृत रूपमा लेखिएको छ। यस आत्मकथामा विनोद चौधरीले नेपालकै सबैभन्दा धनी व्यक्ति बन्न सम्मको यात्रा र त्यस क्रममा घटेका विभिन्न घटनाका बारेमा लेखेका छन्।

 ३.बिल गेट्स, डिजिटल क्रान्तिदेखि सृजनशिल पूंजीैवादसम्म 

अच्युत कोइरालाले लेखेको उक्त आत्मकथामा बिल गेट्सको माइक्रोसफ्टदेखि विश्वको सबैभन्दा धनी व्यक्ति हुँदा सम्मको घट्नाहरु उल्लिखित गरिएको छ। यस आत्मकथामा बिल गेट्सको उदय साथै माइक्रोसफ्ट विश्वकै एउटा उत्कृष्ट कम्पनी बन्न के के लाग्यो लेखिएको छ। यस जीवनीमा लेखकले बिल गेट्सको परोपकारी पक्षको पनि वर्णन गरेका छन्।

 ४.  ज्याक मा र अलिबाबा

यान छिछङले लेखिएको उक्त आत्मकथामा ज्याक मा स्कुलका शिक्षकदेखि विश्वको धनी मान्छे कसरी बने भनेर लेखिएको छ। उक्त आत्मकथाबाट चाइनिज बिजनेस साथै उदाउँदो डिजिटल युगका बारेमा विस्तृत रूपमा जान्न सकिन्छ। यस पुस्तकबाट डिजिटल युगले खडा गरेको सम्भावना बारे पनि जान्न सकिन्छ।

५. द एभ्रीथिंग स्टोर, जेफ बेजोस एन्ड द एज अफ अमेजोन

ब्राड स्टोनले अमेजोनका दूरदर्शी संस्थापक जेफ बेजोस बारेमा लेखेको उक्त आत्मकथामा एमाजोनको अनलाइन किताब कम्पनीदेखि आज संसारकै ठुलो अनलाइन सपिङ कम्पनी सम्मको यात्राको बारेमा लेखिएको छ। सामान किन्ने प्रवृत्ति नै परिवर्तन गरेका बेजोसलाई ब्राड स्टोनले स्टिब जब्स, बिल गेट्स लगायत अन्य व्यवसाययिसंग तुलना गरेका छन्।

विश्व प्रसिद्ध व्यवसायी वारेन बफेटको भनाई छ, “तपाईँले आफ्नो  गल्तीबाट सिक्नु राम्रो हो, तर अरूको गल्तीबाट सिक्नु झन् धेरै राम्रो हो”। आफ्नै गल्तीबाट सबै कुरा सिक्नु सम्भव छैन। आत्मकथाहरू पढेर त्यस्ता गल्तीहरूबाट परिचित हुनुका साथै प्रेरणा पनि मिल्छ। त्यसैले सफल व्यवसायी बन्न विभिन्न व्यवसायीहरूको आत्मकथा पढ्नु आवश्यक छ। 


0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल