दिदी अन्जु घिमिरे र भाइ विशाल घिमिरे मिलेर न्युरोडमा “मारिया नेल्स एण्ड ब्युटी सोलुसन” खोलेका छन्। सामान्य सैलुन वा पार्लर भन्दा उनीहरूको सैलुन अलिकति फरक छ। यो सैलुन नेपाल मै पहिलो पटक रसियन प्रविधिबाट खोलिएको सैलुन हो।

केही समय अघिसम्म अन्जु चाबहिलमा ब्युटी पार्लर चलाउँथिन्। महिलाहरूका लागि मात्र सेवा उपलब्ध थियो। पार्लर आउने महिलाहरूसँगै कहिकाँही पुरुष साथीहरू पनि आउने गर्थे। महिला पार्लर भएकाले कहाँ बस्ने र के कुरा गर्ने भनेर अप्ठ्यारो मान्थे। उनलाई लाग्थ्यो महिला र पुरुष दुवै आउन सक्ने पार्लर भएको भए सजिलो हुने थियो।

त्यति बेला विशाल रसियामा पार्लर सम्बन्धी नै काम गर्दै थिए। त्यहाँ गएको लगभग १० वर्ष भइसकेको थियो। पार्लर क्षेत्रमा सीप सिकेर धेरै अनुभव बटुलीसकेका थिए। उनलाई पनि विदेशमा लामो समय बस्न मन थिएन। त्यसलाई नेपालमै ल्याएर केही गर्न चाहन्थे। त्यसैले नेपाल फर्किए।  

दिदीभाइनै एउटै क्षेत्रमा पोख्त भएपछि यही क्षेत्रमा केही गर्ने सोच आयो। भेटेर सल्लाह गरे। दिदीको पार्लर त पहिला देखिनै चलिरहेको थियो। । मिलेर एउटै पार्लर खोल्न सकिने सम्भावनाबारे छलफल गरे। दुबैजनाको सीपले महिला र पुरुषलाई एकैठाँउमा सेवा दिन सकिने  Unisex सैलुन खोल्ने निर्णय भयो। अब त्यहाँ छिर्ने कसैलाई पनि अप्ठ्यारो नहुने भयो।

पार्लर खोल्दा मान्छेको चहलपहल धेरै हुने ठाउँमा खोल्दा राम्रो हुन्छ भनेर उनीहरूले सहरबजारतिर नै ठाउँ खोज्न थाले। न्युरोड अर्थात् काठमाडौँको मुटुमा नै ठाउँ फेला पर्‍यो। काम सुरु भयो। भाइले विदेशमा र दिदीले स्वदेशमै बसेर कमाएको रकमले पार्लर सजियो।

सुरुवाती दिनहरूमा केही गाह्रो पक्कै भएको हो। उक्त नयाँ अवधारणाको सैलुनको बारेमा सबैलाई थाहा थिएन। ग्राहकहरू फाट्टफुट्ट मात्र आउँथे। कुरेर बस्नुपर्थ्यो। तर एकचोटी आएर सेवा लिइ फर्किएका ग्राहकहरूले गुनासो भने कहिल्यै गरेनन्। बरु सेवाको बारेमा चिनेकाहरूलाई पनि भनिदिए। एक बोली अर्को बोली हुँदै बिस्तारै ग्राहकहरू बढ्न थाले। त्यसै कारण खोलेको ६ महिनासम्ममा मार्केटिङमा खासै ध्यान नदिए तापनि ग्राहकहरूको सङ्ख्या बढिनै रह्यो। यस्तो हुनुमा आफूले दिने गुणस्तरीय सेवाको निकै ठुलो हात रहेको दिदीभाइ नै बताउँछन्।

सैलुनमा ग्राहकको स्वास्थ्यलाई निकै ध्यान दिइन्छ। सरसफाइमा विशेष जोड दिने गर्छन्। एक पटक प्रयोग भएका सामानहरू फेरी दोस्रो पटक प्रयोग गर्नु अघि स्टेरिलाइज (sterilize) गरिन्छ। त्यस्तै आउने जाने ग्राहकहरूलाई स्वासप्रस्वासबाट रोगहरू नसरोस् भन्ने हिसाबले जीवाणुरोधी (antibacterial) बत्तीहरूको पनि प्रयोग गरिएका छन्। सरसफाइ गर्दा र सामानहरू सफा गर्दा प्रयोग गरिने तरल पदार्थ पनि जीवाणुरोधी (antibacterial) नै हुन्छ। त्यस्तै उनीहरूले तौल नाप्ने, रक्तचाप नाप्ने र डाइबिटिज जाँच गर्ने जस्ता सुविधाहरू सित्तैमा गरिदिने गरेका छन्। स्वास्थ्यसँगै ग्राहकको रुचीलाई पनि उत्तिकै ध्यान दिँदै वाइफाइ, चिया अथवा कफीको सुविधा पनि उनीहरूले बिना पैसा नै दिँदै आइरहेका छन्। यी सब सुविधा प्रदान गर्दै गर्दा दिने सेवाहरू पनि सस्तो मूल्यमा प्रदान गर्दै आएको अन्जु बताउँछिन्। उनी भन्छिन्, “कहिलेकाहीँ त सेवा अनुसार मूल्य कम भयो भनेर ग्राहक आफैले पनि भन्ने गर्नुहुन्छ।”

सैलुनमा नङ, आँखा, परेला, छाला, कपाल आदिका लागि साना भन्दा साना कुराहरूमा सेवा दिइन्छ। साथै यहाँ तालिमको पनि व्यवस्था गरिएको छ। विदेश जानका लागि थुप्रै व्यक्तिहरू पनि काम सिक्न आउने गरेका छन्।

विदेशमा राम्रै आम्दानी हुँदा पनि देशलाई सम्झेर फर्केका विशालले पार्लरको क्षेत्रमा गर्न खोजेको प्रयास उल्लेखनीय देखिन्छ। देशमा पार्लर त धेरै छन् तर सबैले ग्राहकको स्वास्थ्यलाई ध्यान नदिएका पनि हुन सक्छन्। काइँयो, रुमाल, कैँचीबाट सर्ने गरेको चायाँ र अन्य रोगहरूलाई सर्न नदिनलाई मारियाले मात्र होइन सबै पार्लरहरुले यो विधि अपनाउनु पर्ने देखिन्छ ताकि एकातिर सेवा लिँदै गर्दा अर्कोतिर समस्या नजन्मियोस्। यो पार्लरले अरू धेरै पार्लरहरूलाई पनि उत्कृष्ट सेवातर्फ केन्द्रित हुन पक्कै उत्प्रेरित गर्नेछ। यसरी सीप र अनुभवको उचित प्रयोग गरेर व्यवसायलाई व्यवस्थित ढङ्गले अगाडी बढाउने युवाहरू बढिरहुन्।

तलको युट्युब भिडियोमा उद्यमी नेपाल र मारिया नेल्स एण्ड ब्युटी सोलुसनबीच भएको प्रतक्ष अन्तर्वार्ता हेर्नुहोस्:  

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img