झापाको बुधबारेमा कपी उद्योग खोल्नुभन्दा पहिला गुरुभक्त मिश्र फाइनान्स कम्पनीमा जागिर गर्थे। बि.बि.एस सकेर खान थालेको जागिरले खासै ठुलो प्रगति चखाएको थिएन। अल्झाइरहेको भने थियो। अर्को व्यवस्था नभएको तथा परिवार चलाउनको लागि त्यही मात्र उपाय भएकाले उनले त्यसलाई छोड्न पनि सकेका थिएनन्। आफैले केही गर्ने सोच पहिला देखिनै थियो तर के गर्ने भन्ने थाहा थिएन। जागिर गर्ने कि आफ्नै व्यवसाय थाल्ने भन्ने द्विविधामा लामो समय हराए।

दिन बित्दै गयो। गुरुभक्तले जागिर छोडिहाल्न सकेनन्। उस्तै उस्तै दिनहरूले पछ्याइरहेको बेला एक दिन उनको सरुवा भएको खबर आयो। नयाँ ठाउँमा जानुपर्ने भयो। खुसी हुनु कि दुखी उनलाई थाहा थिएन तर त्यो सरुवाले उनको जीवनको बाटोनै मोडिदियो। सोचे नयाँ ठाउँमा गएर पनि आफूलाई बानी बनाउनै पर्छ। नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ व्यक्तिहरूसँग घुलमिल हुनै पर्छ। जीवनलाई यसले जसरी पनि असर त पार्छ नै। बरु किन यही अवस्थामा जागिर छोडेर आफ्नै व्यवसायको नयाँ वातावरणमा घुलमिल नहुने?

सरुवा भएको ठाउँमा गएनन्। जागिर छोडे र आफ्नै कपी उद्योग सुरु गरे।

पन्जाबबाट मेसिन लगायत आवश्यक कच्चा पदार्थहरू मगाए। ५ देखि ७ लाख रकम लाग्यो। उद्योगका लागि टिनले छाएर काम गर्न मिल्ने गरी ठाउँको पनि व्यवस्था गरे। यसका लागि १५ देखि १६ लाख खर्च भयो। सबै व्यवस्था मिलाएर खोलेको उद्योगको नाम राखे “दर्पण कपी उद्योग”।

कपी बनाएर बेच्न थालेको अहिले डेढ वर्ष भइसकेको छ। हाल ४ जना कामदारका साथ आफै लागेर उद्योगलाई हाँकी रहेका छन्। आफै पनि कपी बनाउँछन्। झापा, इलाम, पाँचथर र ताप्लेजुङमा बजार विस्तार भइसकेको छ।  यी ठाउँका स्टेशनरी तथा अन्य पसलहरूबाट अर्डर लिन तथा माग गरिए अनुसारको कपी पुर्‍याउन आफैँ सक्रिय भएर लागिरहेका छन्। औसतमा दिनको १००० वटा जति कपी उनको फ्याक्ट्रीले बनाइरहेको छ।

उत्पादित कपी सस्ता र महँगा दुवै किसिमका छन्। दाम रु. १० देखि सुरु भएर १५० सम्म पर्छ। ठाउँ र आवश्यकता अनुसार ती कपी बिक्री हुन्छन्। स्कुल र कलेजले बराबरी जसो उनको फ्याक्ट्रीका कपी चलाउँछन्।

उद्योगबाट मासिक ३ देखि ४ लाखको आम्दानी हुन्छ। परिवार धान्न अहिले धेरै सजिलो भएको छ। उनी अहिले निकै खुसी छन्। जागिर गरिरहेका भए जीवनको यो पाटो देख्न उनले सायदै सक्थे होला। जागिर छाडी आफ्नै नौलो सृजना गर्ने निर्णय लिएकोमा उनलाई अहिले कुनै खेद छैन। भन्छन्, “आफ्नो हिसाबमा चल्न पाइन्छ, व्यवसाय गर्नुपर्छ। आफ्नो भनेको आफ्नै हुन्छ।”  

राम्रैसँग चलिरहेको उद्योग भएतापनि यसमा समस्या नभएका हैनन्।

अहिले कपी उद्योग जताततै खुलेका छन्। उनको नजिकै पर्ने  बुधबारे र उर्लाबारीमा पनि धेरै खुलिसके। दमकमा अझ ५ वटासम्म पनि छन्। सबैको ग्राहक लगभग उस्तै उस्तै क्षेत्रका भएकाले पनि प्रतिस्पर्धा बढेको छ। यति मात्र हैन उधारोमा किनेर पैसा दिन ढिलो गर्ने खुद्रा व्यापारीहरूले पनि सताइरहेका हुन्छन्। यो व्यवसायमा आउन चाहनेहरूलाई चुनौतीको बारेमा बताउँदा उनी यही कुरा बताउँछन्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल