धनकुटाका लोकेश भण्डारी र धादिङका उमेश शाह दुई साथी मिलेर काठमाडौँको पुरानो बानेश्वरमा बेकरी पसल चलाउछन्। सधैँ अरुको काममा धसिदै आएका दुवैलाई आफ्नै व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। त्यसैले भेट भएको ३ महिना नपुग्दै उनीहरूले सँगै मिलेर व्यवसाय गर्ने निर्णय लिए।

लोकेशले १२ कक्षासम्मको अध्ययन आफ्नै गाउँ धनकुटाबाट नै पूरा गरे। १२ सकेपछि उनलाई विदेश जाने मन भयो। घरका सदस्यहरूसँग उनले आफ्नो इच्छा व्यक्त गरे। दुबईमा उनले चिनेको दाई थिए। उनलाई दुबईमा त्यी दाईसँग बसेर काम सिक्न मन थियो। तर दुबईसम्म पुग्ने रकम भने परिवारसँग थिएन।

कुनै उपाय नभएपछि डेढ लाख ऋण लिएर उनलाई दुबई पठाउने निर्णय भयो। दुबई पुग्न अफ्ठ्यारो भयो तर त्यहाँ पुगेपछि उनलाई त्यति गार्हो परेन। गार्होसार्होमा चिनेका दाई थिए। तिनै दाईको सिफारिसमा लोकेश बेकरी सम्बन्धि काममा लागे। उनलाई त्यहाँ तालिम दिइन्थ्यो र सोही तालिमबाट सिकेर उनले बेकरीमा काम गर्नुपर्थ्यो। यसरी उनले बेकरी सम्बन्धि काम सिक्ने मौका पाए। त्यहाँ उनले २ वर्षसम्म काम गरे। अरूको देशमा काम गर्न जाँदा भनेको जस्तो त कहाँ हुन्थ्यो र? उनलाई आफूले सिकेको कामलाई देश भित्राउन मन भयो। त्यसकारण उनमा नेपाल फर्किने सोच पलायो।

उनको यो इच्छाले उनलाई नेपाल फर्कायो। लोकेशलाई काठमाडौँमा काम गर्ने मन थियो। घरमा फेरी सरसल्लाह भयो। सबैजनासँग सल्लाह गरी उनी काठमाडौँ जाने भए। काठमाडौँ आएपछि उनले सोचेको जस्तो भने भएन। सजिलै काम पाइएन। धेरै भौतारिएपछि उनले बानेश्वोरको बेकरीमा काम पाए। त्यहाँ बेकरी आइटमहरू बनाउदै गुजारा चलाउन थाले।

उता उमेश ७ कक्षा पढ्दादेखि नै काममा लागेका थिए। उनले आफ्ना दाजुहरुबाट इन्टेरियर डिजाइनिङ सिकेका थिए। सीप सिकेका कारण उनले सिनामंगलको न्यु मोडर्न इन्टेरियरमा जागिर पाए। त्यहाँ उनले एक वर्ष ६ महिना जति काम गरे। त्यसपछि उनले काठमाडौँकै एक बन्कुईटमा वेटरको काम गर्न थाले। उनले त्यहाँ ३ वर्षसम्म काम गरे।

३ वर्षसम्म एउटै काम गर्दा उनी सन्तुष्ट रहन सकेनन्। उनी पढ्दै पनि त थिए। पढाइ र कामलाई सँगसँगै हाक्न उनलाई गार्हो थियो तर काठमाडौँको महँगीको अगाडी टिक्न उनले केही न केही काम त गर्नै पर्ने थियो। त्यसपछि उनी अरू नै केही काम पाइन्छ कि भन्दै खोज्न थाले। त्यसपछि उनले कमलादीमा डेलीभरीको काम पाए। त्यहाँ केही समय काम गरेपछि डेलिभरीकै लागि उनले पोस्ट खाली देखे। उनी त्यहाँ गए र काम सुरु गरे। समयले उनलाई धेरै कुदायो। उनी समयसँगै कुद्न थाले।

एक दिन खाना डेलिभरीकै क्रममा उनी लोकेशले काम गर्ने बेकरीसम्म पुगे । संयोग नै मान्नु पर्छ उनले त्यहिँ नयाँ काम पनि पाए। यसरी पहिलो पटक  उमेश र लोकेशको भेट जुर्न गयो। लोकेश अर्डर अनुसार केक बनाउँथे भने उमेश त्यो केक पुर्याउन भनेको ठाउँमा पुग्थे। सँगै काम गर्दा उनीहरूको दु:ख र सोच मिल्न गएको कुरा उनीहरूलाई विस्तारै महसुस हुन थाल्यो।

अब दुईजनामा कति अरुको काम गर्ने आफ्नै व्यवसाय सुरु गरौँ भन्ने विषयमा कुराकानी हुन थाल्यो। लोकेशमा बेकरी सम्बन्धि काम हाक्न सक्ने खुबि थियो भने उता डेलिभरी, मार्केटिङ र डिजाइनको काम हाक्न सक्ने उमेश थिए। यही कुरालाई विचार गरेर उनीहरू बेकरी खोल्ने निर्णयमा पूगे। अनलाइन सेवा दिने किसिमको बेकरी सुरु गर्ने र ग्राहकलाई सकेसम्म सन्तुष्ट बनाउने उनीहरूको उदेश्य थियो।

आफ्ना पछिल्ला अनुभवहरूले उनीहरूलाई धेरै कुराहरु सिकाइसकेको थियो। तर अनुभवले मात्र सबै समस्या समाधान नहुदो रहेछ। बेकरी खोल्न आवश्यक रकम उनीहरूले बढो कठिनाइका साथ जुटाए। पछिल्लो समयमा काम गरेको पैसा र परिवारबाट पनि सहयोग लिएर ७ लाख रुपैयाँ जम्मा भयो। तर बेकरी खोल्न उनीहरूले उचित ठाउँ पाइरहेका थिएनन्। उनीहरू बेकरी राख्नका लागि ठाउँका बारेमा सोधपुछ गर्दै हिड्न थाले। धेरै मेहेनत गरेपछि बानेश्वोरमा एउटा ठाउँ फेला पर्यो। ठाउँ पाएपछि सुरुमा उनीहरूले ठाउँलाई अध्ययन गरे। उनीहरूलाई आवासीय क्षेत्रमा बेकरी खोल्नु थियो। भनेकै जस्तो ठाउँ जुर्न गयो।

ढिलो नगरी उनीहरूले बेकरीका लागि चाहिने मेशिनहरू किने। पहिला लामो समयसम्म बेकरीमा नै काम गरेकाले बेकरीका लागि चाहिने सामानहरू कहाँबाट लिँदा राम्रो हुन्छ भन्ने कुराको हेक्का दुवैमा थियो। त्यसकारण सुरुमा उनीहरूले टेकुबाट ओभन र रेफ्रिजिरेटर जस्ता बेकरीमा चाहिने मेशिनहरू जोडे। लगानीले भ्याएजति सामान राखेर उनीहरूको बेकरी “ह्याज़ल केक्स” सुरु भयो। अनि पहिलाको जस्तै लोकेशले केकहरू बनाउन थाले र उमेशले घरघरमा पुर्याउन। उही काम भएतापनि काममा आफ्नोपन र बढी लघाव थियो यसपटक। मार्केटिङको पाटो पनि उमेशले नै हेर्न थाले। फेसबुक र इन्स्टाग्रामबाट आफ्नो बेकरीको नाम, ठेगाना र फोटाहरू राखि मार्केटिङ पनि सुरू भयो।

सुरूमा निकै गार्हो पर्यो। केही समय ग्राहक बन्न नै लाग्यो। तब सम्म ग्राहकहरूको आश गरेर बस्नु बाहेक उनीहरूसँग अरू कुनै उपाय पनि थिएन। ग्राहकहरू फाट्टफुट्ट आउन थालेपछि पनि समस्याहरूले उनीहरूलाई गाजीरह्यो। अनलाइन अर्डर गरिएका केकहरू समयमा नै डेलिभरी गरिदिनुपर्ने हुन्थ्यो। फोन गरेर अर्डर दिने र केक बनिसकेपछि फोन नउठाउने ग्राहकहरू पनि धेरै भेटिए। त्यस्तै बेकरीको उत्पादनहरू सधैँ बिक्री नहुने भएकाले पनि समस्याहरू थपिदै गए। यसलाई समाधान गर्न उनीहरूले थोरै मात्रामा उत्पादन गर्न थाले। यो क्षेत्रमा आउने समस्याका बारेमा अझ बढी जान्न खोज्दा उनीहरू गर्मी याममा डेलिभरी गर्न जाँदा केक पग्लिने र झरीको मौसममा केक भिज्ने जस्ता समस्याहरू आउने गरेको पनि बताउँछन्।

समस्या सबै काममा हुन्छ। तर उनीहरूलाई यी समस्याहरूले त्यति सजिलै कहाँ छुन सक्थ्यो र? उनीहरू कसरी आफ्नो उदेश्यसम्म पुग्न सकिन्छ भन्ने कुरामा नै केन्द्रित रहिरहे। समयसँगै ग्राहकहरू पनि बढ्दै गए। उनीहरूको धैर्यका कारण बेकरीले हुर्किने मौका पाउँदै गयो।

 अहिले ह्याज़ल केक्स १ वर्ष पूरानो भइसकेको छ। उनीहरू अहिले ५ जना कामदारहरू सहित बेकरी चलाउँदै आएका छन्। ५ जना मध्य २ जना केक बनाउँछन्, १ जना कपकेक, फ्रुटकेक, चोकोलाभा, डोनट र पेस्ट्री बनाउँछन् र अर्का एकजना सबै काममा मद्दत गर्ने हेल्पर छन्। बेकरीमा सफा वातावरण कायम गर्नुका साथसाथै बेकरीलाई उत्तिकै आकर्षक पनि बनाएका छन् दुई साथी मिलेर। भित्र फ्याक्ट्री र बाहिर दुई कोठाको पसल रहेको छ। एउटा कोठामा उत्पादनहरू राखिएका छन् भने अर्को कोठालाई डिजाइन गरेर ग्राहकहरूलाई खान र बस्नको व्यवस्था मिलाइएको छ।

लोकेश भन्छन्, “आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन, प्रणय दिवस, नयाँ वर्ष र क्रिसमसका समयमा बढी व्यापार हुन्छ।”

बेकरीले अहिले नयाँ रुप लिइसकेको छ। नियमित ग्राहकहरू पनि बनिसकेका छन् र नयाँ ग्राहकहरू पनि उत्तिकै बनिरहेका छन्। अहिले मासिक रुपमा ६ देखि ७ लाखको कमाइ हुने गरेको उमेश बताउँछन्। अब भविष्यमा १० देखि १५ जना कामदारका साथ काठमाडौँमा मात्र नभएर उपत्यका बाहिरका धेरै भन्दा धेरै व्यक्तिहरूसम्म पुग्ने उनीहरूको योजना रहेको छ।

नोट: यो लेख उद्यमी नेपालको श:शुल्क सेवा अन्तर्गत तयार पारिएको हो। उद्यमी नेपालको श:शुल्क सेवा लिइदिनु भएकोमा ह्याजल केक्सलाई विशेष धन्यवाद।

ह्याजल केक्ससँग सम्पर्क गर्नु परेमा दिइएको नम्बर डायल गर्नुहोस्: ९८६३३३७९४१ 

तलको युट्युब भिडियोमा उद्यमी नेपाल र ह्याजल केक्सबीच भएको प्रतक्ष अन्तर्वार्ता हेर्नुहोस्: 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img