“यशोदा ब्याग तथा रेडिमेड उद्योग”, यशोदा गजुरेलको लागि यो एउटा ब्याग उद्योग मात्र हैन, साकार बन्दै गरेको उनको एउटा ठुलो सपना पनि हो।  यस्तो छ आफ्नो एउटा गृहिणीको रूपमा मात्र सीमित भूमिकाबाट बाहिर निस्केर एक सफल उद्यमी बन्न तर्फ लम्किँदै गरेकी यशोदाको कथा:
उनको जन्म चितवनमा भयो। बुबा किसान हुनुहुन्थ्यो। उनका आवश्यकता पूरा गर्न घरपरिवारले सक्दो दुख गरेर उनलाई हुर्काए, पढाए र बढाए।

संसार बुझ्दै गरेकी र त्यस भित्र पनि आफ्नो सपनाको छुटै संसारमा रमाउँदै गरेकी यशोदा विवाह भई श्रीमान् र नयाँ बनेको घरपरिवारसँग वीरगन्जमा बस्ने भइन्। विवाह पछि यशोदा घर गृहस्थी सम्हाल्ने गर्थिन् भने उनका श्रीमानले एउटा ब्याग फ्याक्ट्री चलाउने गर्थे।

परिवारको आर्थिक स्थिति खासै राम्रो भने थिएन। केही समयपछि त परिवारमा नयाँ सदस्य पनि थपिए। उनका दुई छोराहरू। अब सासू, ससुरा, उनी, उनको श्रीमान् र दुई छोराहरू गरेर ६ जनाको परिवार भयो।
घर खर्च टार्नुपर्ने, छोराहरू पढाउनु पर्ने, बुढा भएका सासू ससुराको औषधी गर्नुपर्ने, पुरै परिवार फ्याक्ट्रीकै भरमा थियो ।

यशोदाले यो समस्यालाई राम्रैसँग बुझेकी थिइन्। उनी दिनहुँ जसो यसमा घोत्लिन्थिन्। यसको समाधान खोज्थिन्। श्रीमानको कमाइले मात्र घर चलाउन गाह्रो पर्छ, आफूले पनि केही गर्न सके सजिलो हुन्थ्यो कि भन्ने उनलाई सधैँ महसुस भइरहन्थ्यो।

उनी समयसमयमा श्रीमानको फ्याक्ट्री गइरहन्थिन्। त्यहाँ कामदारहरूले काम गरेको हेर्थिन्। हेर्दै जाँदा उनलाई पनि ब्याग बनाउने कुरामा रुचि बढ्न थाल्यो। उनमा काम सिक्ने तीव्र इच्छा जाग्यो।

जस कारण फ्याक्ट्रीको काम सिक्ने उपाय पनि उनले निकाली हालिन्। उनले पनि त्यहाँका कामदारहरूबाट ब्याग बनाउने तरिका सिक्न खोजिन्। सुरुमा उनले कटिङ् हुँदै, सिलाई र प्याकिङका कामहरू पनि सिकिन्। उनलाई काम सिक्न धेरै समय लागेन।

काम त सिकिन्, अब अर्को पनि एउटा फ्याक्ट्री खोल्न सकियो भने मात्र परिवार घान्न सजिलो होला भन्ने उनलाई लाग्यो।

उनले श्रीमानलाई सारा कुरा बताइन्। श्रीमानलाई उनको हिम्मत र मेहेनत देखेर साह्रै खुसी लाग्यो। उनले यस काममा यशोदालाई सक्दो सहयोग गर्ने निर्णय गरे।

तर फेरि लगानी चाहिन्थियो। यशोदाले त्यस्तै श्रीमानले घर खर्चका लागि दिएको रकमबाट केही छुट्ट्याएर सहकारीमा जम्मा गर्ने गर्थिन्। त्यो रकम पनि करिब १ लाख पुगिसकेको रहेछ। अब उनले बचत गरेको १ लाख रकममा श्रीमानले दुई लाख रुपैयाँ सहयोग गर्ने भए। यसरी ३ लाख लगानीबाट उनी र उनको श्रीमानले “यशोदा ब्याग तथा रेडिमेड उद्योग” सुरु गरे।

ब्याग बनाउनका लागि जुकी मेसिन चाहिने, उनीहरूले १५०,००० मा ७ वटा त्यस्ता जुकी मेसिनहरू काठमाडौँबाट किनेर लागे। त्यस्तै चाहिने सामग्रीहरू कपडा, फित्ता, पाइ पिङ, चेन नजिकै बजारबाट नै जुटाए। त्यसपछि आफ्नो घर नजिकै एउटा कोठा लिएर ब्याग बनाउने व्यवसाय सुरु गरे।

सुरुमा त यशोदालाई निकै गाह्रो भयो। सजिलो सवारीसाधन नभएको ठाउँ, भन्ने बित्तिकै यातायात नपाउने। राम्रा कामदारहरू पाउन पनि उत्तिकै समस्या थियो। विशेष गरेर ब्यागहरू पुर्‍याउन जाँदा उनलाई सधैँ जसो समस्या पर्ने गर्थियो।

समस्याहरू त थिए तर उनले हार भने मानिनन्। कामलाई जसोतसो निरन्तरता दिइ नै रहिन्।
त्यतिकैमा एक दिन उनको श्रीमानको चिनजान ब्याग सम्बन्धी ज्ञान भएका र काम खोज्दै गरेका मान्छेहरूसँग भयो। उनीहरूको ८ जनाको टोली थियो। ब्याग बनाउन आउने तर बेरोजगार। यशोदा र उनको श्रीमानले त्यी व्यक्तिहरूलाई आफ्नो फ्याक्ट्रीमा राख्ने निर्णय गरे।

कामदारहरू सिपालु थिए। राम्रो तथा छिटो काम गर्न थाले। त्यसपछिका दिनहरूबाट ब्यागको गुणस्तरमा कहिल्यै कमी भएन। सबैजसो ग्राहक सन्तुष्ट भेटिन थाले अनि यशोदाले कहिल्यै भनाइ सुन्नु परेन।
उनीहरू बिहानदेखि बेलुकीसम्मै काम गर्थे। कति वटा ब्याग बनायो सोही अनुसारको पैसा उनीहरूले पाउँथे। यशोदाले पनि घरको काम सकेर फ्याक्ट्रीमा दिनभर मेहेनत गर्थिन्।

कामदारहरू आएपछि उनीहरूको बस्ने, खानेको राम्रो व्यवस्था थिएन। यो एउटा ठुलो समस्या थियो। यसको समाधानका लागि उनीहरूले एउटा सिङ्गो घर भाडामा लिने निर्णय गरे। कामदारहरूलाई एउटा तल्ला, उनीहरूलाई एउटा र फ्याक्ट्रीको लागि अर्को। यसरी अहिले भुईँ तल्लामा ६ कोठाको फ्याक्ट्री राखी धमाधम ब्यागहरू बनिरहेका हुन्छन् यशोदाको फ्याक्ट्रीमा। यसरी सँगै बसेर मिलेर काम गर्दा सबैलाई सजिलो भइरहेको कुरा उनी बताउँछिन्।

सबैको सहकार्यमा उनीहरूले भनेभने जस्ता ब्यागहरू बनाउन थाले। यशोदाका श्रीमानले उनलाई मार्केटिङमा सहयोग गर्दै थिए । बिस्तारै चिनजानबाट उनीहरूको सामाग्री विभिन्न जिल्लाहरूमा पुग्न थाले। फोनबाट ब्यागहरूको अर्डर आउन थाल्यो। व्यापारले नयाँ गति लियो।

अहिले बुटवल, भैरहवा, जनकपुर, इटहरी, इनरुवा र आफू बसेको जिल्ला वीरगन्ज गरी ६ वटा जिल्लाहरूमा आफ्ना ब्यागहरू पठाउँछन्। नजिकै पुर्‍याउनु पर्ने हुँदा ठेलाबाट पुर्‍याउने र विभिन्न जिल्लाहरूमा पुर्‍याउनु पर्‍यो भने ट्रान्सपोर्टको मद्दत लिने गरेका छन् अहिले उनीहरूले। त्यस्तै विभिन्न सङ्घसंस्थाहरूको लोगो राखी ब्याग बनाउनका लागि पनि उनको फ्याक्ट्रीमा अर्डर आउने गरेको छ। उनीहरूले अर्डर अनुसारको ब्यागहरू १० दिन भित्रमा बनाउँछन्।

यशोदाले फ्याक्ट्री खोलेको आज लगभग १ वर्ष भइसकेको छ। अहिले उनको व्यवसायले निकै राम्रो ब्यागहरू उत्पादन गरिरहेको छ। यस सफलताको कारण आफ्नो श्रीमानको सहयोग हो भन्छिन् उनी। उनले आफ्नो श्रीमानबाट धेरै कुराहरू सिक्न पाइन् । व्यवसाय सम्बन्धी एकअर्कामा धेरै कुराहरू साटासाट गर्न सकिने हुनाले दुवै जना मिलेर एउटै किसिमको व्यवसाय गर्दा उनले आफूलाई धेरै सजिलो भएको महसुस गरेकी छिन्।

भन्छिन् “बजारमा प्रतिस्पर्धा त छ तर हामीले ग्राहक बनाइसकेका छौँ। श्रीमानले ग्राहक बनाउन धेरै मद्दत गर्नुभयो। फ्याक्ट्रीबाट कमिएको पैसाले घर भाडा र खर्च दुवै चलाउँदै आएकी छु।”

उनको सहयोगले घरको आर्थिक अवस्थामा सुधार आएको छ। उनले सोचिन् र सोचेको कुरा पूरा गरेर नै छाडिन्। सायद उनी जस्ता व्यक्तिहरूलाई नै सफल उद्यमी भनी बोलाइन्छ होला।

 

 

 

 

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !