केही समयको लागि सामान्य टाउको दुख्दा होस् वा लामो समयसम्म चल्ने दिर्घ रोगले सताउँदा होस् औषधि सबैलाई चाहिन्छ। कुन समयमा कसलाई कस्तो बिरामले सताउँछ यो कसैले भन्न सक्ने कुरा होइन। यस्तो अवस्थामा हालसम्म बिरामीका लागि औषधि किन्न उसका नजिकका नातेदार, साथीभाइ वा घरका अरू कुनै सदस्यहरू नजिकको मेडिकल नभए अस्पताल नै दौडिने चलन छ।

यस्तो अवस्थामा राति बिरामी परियो भने कता दौडिने त भन्ने प्रश्नको जवाफ हालसम्म कसैले दिन सक्ने अवस्था छैन  त्यस्तै घरमा वा नजिक कोइ पनि नभएका बेला बिरामी परियो भने कसलाई र कहाँ सम्पर्क गर्ने भन्ने प्रश्नको जवाफ दिन पनि उत्तिकै कठिन छ।

यी हुन् हामीले अकस्मात आइपर्दा मात्र सोच्ने गरेका केही समस्याहरू। यी समस्याहरू सुन्दा भन्दा पनि भोग्दा बढी जटिल लाग्दछन्। तर हरेक समस्याले समाधान पनि ल्याएको त हुन्छ नै। त्यस्तै यस समस्याको एक समाधान बनेकी छिन् सुप्रिया शाक्य। घरघर, दैलोदैलोमै माग अनुसारको औषधि पुर्‍याएर काठमाडौँमा रहेका बिरामीहरूलाई औषधि खोज्नुपर्ने अनावश्यक चिन्ताबाट निकै टाढा पुर्‍याउन उनी सफल भएकी छिन्।

करिब एक वर्ष भयो उनले यो व्यवसाय अर्थात् “नेपालमेड” सुरु गरेको। उनी र उनका श्रीमान् मेडिकल रेप्रिजेन्टिटिभका रूपमा काम गर्दै थिए। सुप्रियाले भने कामको सिलसिलामा बिरामीहरूले भोगिरहेका अफ्ठ्याराहरु नजिकैबाट हेर्ने प्रयास गरिन्। उनलाई त्यी समस्याहरू समाधान गर्न मन भयो। श्रीमानसँग सल्लाह गरी उनले पार्टनरशीपमा २५ लाखको लगानीबाट यो काम आँटेकी हुन्।

सानैबाट किताबमा रमाउने, पढ्न पाएपछि केही पनि नचाहिने स्वभाव थियो सुप्रियाको। किताबलाई नै साथी बनाएकी थिइन् उनले। पढाइमा सधैँ अब्बल, स्कुलदेखि कलेजका दिनहरूमा सधैँ अरूलाई पढाइमा उछिन्ने उत्कृष्ट विद्यार्थी थिइन् उनी। भविष्यका लागि ठुलो सपना थियो उनको। तर मध्यम वर्गको परिवारमा जन्मिएकी सुप्रियाको घरमा उनी बाहेक अरू तीन छोराछोरी पनि थिए।

दिनदिनै महँगो बन्दै गइरहेको शिक्षा, त्यसमा पनि डाक्टर पढ्नको लागि ३५ लाख भन्दा घटीले नपुग्ने भएपछि सुप्रियाले आफ्नो सपनालाई तुहाउन बाध्य हुनु पर्‍यो।

कक्षा १२ मा डाक्टर बन्ने सपना लिएर विज्ञान पढेकी सुप्रियाले अब ग्रामीण विकासमा केन्द्रित रही स्नातकोत्तर यानी मास्टर्स गरिन्। त्यसपछि उनले मेडिकल रेप्रिजेन्टिटिभका रूपमा काम गर्न थालिन्। काम मन लगाएर गर्ने बानी उनको सानै देखि थियो। कमाइ पनि राम्रो थियो। तर उनी कताकता दुखी नै भइन र अन्ततः उनी जागिर छाड्ने निर्णयमा पुगिन्।  

जागिर छाडेपछि उनलाई आफ्नो कामको अनुभव र डाक्टर बन्ने सपनाको केही नजिक पुर्याउथ्यो फार्मेसीको पढाईले। अब सुप्रियाले ‘डिप्लोमा इन् फार्मेसी’ गर्न भनी कलेज जान थालिन्। त्यतिबेलासम्म उनी आमा बनिसकेकी, कलेजमा आफूभन्दा निकै कम उमेर समूहका विद्यार्थीसँग बसेर पढ्दा उनलाई सुरुमा निकै लाज लाग्थयो। तर आफ्ना सपनाका अगाडी लाज लाग्नुले कुनै अर्थ राख्दैन भन्ने कुरा उनले राम्रोसँग बुझेकी थिइन्। उनले आफ्नो पढाइलाई निरन्तरता दिइन्।

त्यसपछि सुप्रियाले आफ्नो अनुभव र पढाई दुवैको अधिकतम उपयोग गर्दै केही गर्ने बिचार गरिन्। त्यसैक्रममा पहिला आफू जस्तै काम गरिरहेका मेडिकल रेप्रिजेन्टिटिभ साथीहरू, उनी र उनका श्रीमानको सहायताबाट सुरु भयो “नेपालमेड”।

सुप्रियाको घर इखालखु, पाटनमा पर्छ। उनको उनी बाहेक परिवारमा सासू, ससुरा, श्रीमान् र छोरी छन्। पारिवारिक जीवन पहिले जस्तै चली नै रहेको छ तर अब भने पारिवारिक जिम्मेवारीहरूसँगै व्यावसायिक जिम्मेवारी पनि थपिएको छ। यस व्यवसायका लागि उनले घर नजिकै एउटा फ्ल्याट भाडामा लिएकी छिन्। त्यहाँ औषधिको स्टोर सँगै उनको र साथीहरूको कार्यकक्ष पनि अटेको छ।

सुरुमा त ग्राहकहरूले उनलाई पत्याएनन् पनि। औषधि पनि अनलाइन किन्न पाइन्छ र भन्ने शङ्का प्राय सबै ग्राहकहरूले गरे। तर काम गर्दै जाँदा धेरैको मन जित्न समय लागेन। सुरुवातमा उनले आफ्ना नजिकैका आफन्त, छिमेकी र नातेदारलाई नै आफ्नो ग्राहक बनाएर सुरु गरिन्। उनको सेवाबाट सबै जसो सन्तुष्ट भेटिए। अनि हल्ला फैलिन पनि बेर लागेन। अझ धेरै भन्दा धेरै ग्राहकलाई यस्तो विश्वास दिलाउनु पर्ने चुनौती उनको अगाडी छदैछ।

अहिले सुप्रिया, उनका श्रीमान्, कर्मचारीहरू सहित अन्य सबै पार्टनरहरू बिहानदेखि बेलुकीसम्म व्यवसायको काममा नै निरन्तर खटिरहन्छन्। अहिले पार्टनर र कर्मचारी गरी व्यवसायमा ९ जना सक्रिय रहेका छन्। मार्केटिङ गर्ने, ग्राहकसँग अर्डर लिने, अनि माग अनुसार होलसेलबाट औषधि ल्याएर ठाउँठाउँमा अर्डर अनुसार पुर्‍याउन उनीहरू व्यस्त हुन्छन्। फार्मेसिस्टको काम डाक्टरले लेखिदिएको प्रेसक्रिप्सन अनुसारको औषधि मिलाएर राखिदिने हुन्छ।

अब त उनीहरूले औषधि मात्र नभएर स्वास्थ्य उपकरण र फुड सप्लिमेन्टहरुको पनि होम डेलिभरी गरिदिने गरेका छन्। त्यस्तै ल्याब टेस्ट (दिशा, पिसाब, रगत आदिको जाँच) घर मै गरिदिने प्याकेजहरूको व्यवस्था पनि गरेका छन्। आफ्ना नियमित ग्राहकको मेडिकल प्रोफाइल राखिदिने सेवा पनि रहेको उनी बताउँछिन्। त्यस्तै ग्राहकको औषधि बदलियो कि छैन भन्ने कुरा सोधी फेरिएको औषधि पुर्‍याउने व्यवस्था पनि नेपालमेडले गरेको छ।

“काठमाडौँमै ५० प्रतिशतभन्दा बढी वयस्कमा नसर्ने रोगहरू जस्तै थाइरोइड, क्यान्सर, मुटु रोग, दम रोग, सुगर आदि देखा परेको छ। त्यस्तै औषधिको खपत १ वर्षमा ३६ अर्ब हुने गरेको छ जसमध्ये ४० प्रतिशत नसर्ने रोगहरूको औषधिका लागि खपत हुन्छ। त्यस कारण हाम्रो देशमा यस व्यवसायको निकै राम्रो सम्भावना छ।”

व्यवसायलाई बढाउन समय लाग्छ। कुनै पनि काम गर्न धैर्य, इच्छाशक्ति र कामप्रतिको लगाव चाहिन्छ भन्ने कुरा सुप्रियालाई राम्रोसँग थाहा छ। त्यसैले उनी अहिले नाफाको आशामा छैनन्। उनी यस व्यवसायलाई अझ ठुलो रूप दिन चाहन्छिन्। भविष्यमा मेडिकल टुरिजमको पनि व्यवस्था गर्ने प्रयासमा तत्पर छिन् सुप्रिया।



0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल