धापाखेल सुमेरु हस्पिटलको छेवैमा, जुगल स्कुलको ठीक अघि एउटा साइनबोर्ड देख्न सकिन्छ “चन्द्रबिन्दु इलेक्ट्रीकल्स”! यो बिजुली पसल विगत ३ वर्ष देखि अनिल गिरीले चलाउदै आइरहेका छन्। सधैं अरुको काम गर्दा गर्दै थकित भएका अनिलले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरे जसका कारण आज उनी एउटा सफल व्यवसायीका रुपमा स्थापित भएका छन्।

भारतको सिलङ्गमा जन्मिएका अनिल आफ्ना बुबा, आमा, ४ बहिनी र १ जना भाइ गरि ८ जनाको परिवारसँग त्यही बस्दै आएका थिए। पराइ देश, सोचेको जस्तो सजिलो कहाँ हुन्छ र? अझ त्यतिबेला त नेपालीहरुलाई ठग्ने, हेप्ने र प्रहरीबाट पनि राम्रो व्यवहार नहुने स्थिति थियो भारतमा। ७ वर्षसम्म जसोतसो परिवारले उनलाई हुर्काए तर त्यहाँ बसी पढ्न भने सम्भव भएन। परिवारबाट उनलाई नेपाल पठाउने निधो भयो।

झापाको बनियानीमा उनका ठूलाबुबाको घर थियो। उनी त्यही बसेर ठूलोबुबालाई घरायसी काम सघाउदै पढ्न थाले। उनका परिवार पनि बनियानी नै फर्किए। उनले कक्षा ८ सम्मको पढाइ बनियानीमा बसेर पूरा गरे। घरपरिवारले पढाइ भन्दा कामलाई ठूलो मान्ने र आर्थिक अवस्था पनि कमजोर भएका कारण उनले पढाइलाई निरन्तरता दिन पाएनन्। उनले पढाइ छाडी काम गर्नुपर्ने भयो।

उनले साथीहरुसँग कामका लागि भारत जाने निर्णय गरे। भारत जाने क्रममा पुलिसबाट उनले खर्चका लागि लगेको पैसा बाटोमै लुटियो। अब एक पछि अर्को समस्याले उनलाई सताउन थाल्यो। मात्र १४ वर्षका अनिल, मजदुरी काम गर्न बाध्य भए। उनले कोइलाखानीमा सुरुङ्गभित्र दिनरात नभनी काम गर्नुपर्यो। यसरी उनले दिनको १०० देखि १५० रुपैयाँसम्म कमाउथे। उनलाई घर फर्किन मन भयो तर दुख सुख गरि कमाएको पैसा खान र आफ्ना जरुरतहरु पूरा गर्नमै सकिन्थ्यो। उनी सँग घर फर्किने पैसा नै भएन। धेरै कष्ट भोगेपछि उनको इच्छाले उपाय जन्मायो। छुट्टिका दिनहरुमा १० देखि १५ दिन काम गरेर उनले घर जाने पैसा जोगाए। पैसा हुँदा पनि उनको घर नपुगिन्जेलसम्म मन शान्त भएन। बाटोमा लुटीइने पो हो कि भन्ने डरलाई उनले घर नपुगेसम्म आफूसंगै बोकी लगे। घर पुगेर उनले सम्पूर्ण बोझहरु बिसाए, घरमा तिहारको रमझम चलिरहेको थियो।

तिहारमा लामो समयपछि घर परिवार इस्टमित्र भेटेर उनी निकै खुसि थिए। चाडबाडमा उनका दाजुभाइसँग कुराकानी गरेर उनीले काठमाडौँ घुम्न जाने निर्णय गरे। काठमाडौँ घुमघाम गरेपछि उनी काठमाडौँमै बसी काम गर्ने भए। काठमाडौँमा पनि उनले गर्नु दुख गरे। उनले निर्माण क्षेत्रमा मजदुरी गर्न थाले। २ वर्षसम्म उनले येही पेशालाई निरन्तरता दिए। उनले मिस्त्रीका रुपमा विभिन्न ठेगेदारहरुसँग काम गर्दै गए। काम गर्दै उनले त्यस क्षेत्रमा धेरै कुराहरु सिके। उनी निकै मेहेनत गर्थे र मेहेनतको फल स्वरूप कुनै समयमा ठेकेदारका हुकुममा काम गर्ने उनी अब आफै नै  ठेकेदार बने।

उनी भन्छन्, “मैले सधै इमान्दार भएर काम गरें। इमान्दारिता र मेहेनती नभइदिएको भए मैले कसैको समर्थन पाउने थिइन। काम गर्दा सधैं इमान्दार र मेहेनती हुनु पर्ने रहेछ भन्ने कुरा सिकें।”

काम गर्ने शिलशिलामा उनको एकजना दाइसँग निकै राम्रो चिनजान भयो। त्यी दाइले उनलाई सधै अरुको काम गर्नु हुदैन, सीप सिकेर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सल्लाह दिए। उनलाई दाइले दिनुभएको सल्लाहले निकै प्रभाव पार्यो। उनले १ वर्ष ६ महिना जति प्लम्बिङ्ग सिके। त्यस्तै उनले काम गर्दा गर्दै चिनेका अर्का दाइबाट इलेक्ट्रीसियनको काम पनि सिके र करिब ४/५ वर्षसम्म उनले ठेकेदार कै काम गरे । कामको बिचमा चिनजान कै साथीहरुबाट उनको विवाहको कुरा चल्यो र २२ वर्षको उमेरमा उनको विवाह पनि भयो।

अब उनी प्लमबर, इलेक्ट्रीसियन र ठेकेदार गरि तीन क्षेत्रका कामहरु गरि राम्रै कमाइ गर्न सक्ने भएका थिए। उनी सीपका धनी थिए। काम गरेर उनले ३ लाख रुपैयाँ जम्मा गरे। प्लम्बरको काम गर्दा सरसामान खरिद गर्ने गरेको पसलका दाइसँग पनि उनको राम्रो सम्बन्ध थियो। तिनै दाइको सहयोग र उनले जम्मा गरेको ३ लाख रकमले उनले बिजुली पसल खोल्ने निधो गरे। ३ लाखमा ४ लाख रकम थप्न उनले फाइन्यान्सबाट ऋण लिए। यसरी ७ लाखको लगानीमा अनिलले बिजुली पसल खोल्ने आँट गरे। काठमाडौँमा भनेजस्तो ठाउँमा सटर पाउन निकै गार्हो कुरा हो, उनलाई त भाग्यमानी मान्नुपर्छ, चिनेका दाइले उनका लागि धापाखेलमा एउटा खाली सटर उतिबेला नै मिलाइदिए। यसरी धेरै कामहरुबाट थुप्रै अनुभवहरु बटुलेका अनिलले २४ वर्षको उमेरमा आफ्नै व्यवसाय ‘चन्द्रबिन्दु इलेक्ट्रीकल्स’ खडा गरे।

विवाह भएको २ वर्ष भित्र नै उनले आफ्नै व्यवसाय सुरु गरे मानौं वैवाहिक जीवनले उनको व्यावसायिक जीवनलाई पनि निमन्त्रणा दिएजस्तो। उनीसँग धेरै वर्ष काम गरेको अनुभव थियो। व्यवसाय चलाउन उनलाई खासै गार्हो भएन। उनले बिजुलीका लगभग सबै सामानहरु स्वदेशबाट नै खरिद गरि बेच्न थाले र बत्तिहरुको जडान पनि घरघर मै गएर आफैले गर्दिन थाले। यो क्षेत्रमा उनले नजानेको काम लगभग केहि पनि थिएन। यस व्यवसायमा पहिला आफूले काम गरेका दिनहरुमा थुप्रै मान्छेहरुसँग चिनजान भएका कारण उनलाई ग्राहक बनाउन पनि धेरै टाढा जानु परेन। यो व्यवसायमा धेरै ग्राहकहरु चिनजानबाट नै बन्ने गरेको अनिलले बताए।

अहिले उनका पसलमा बिजुलीको सामान किन्नका लागि मात्र नभएर प्लम्बिङ्ग सम्बन्धि कामका लागि पनि ग्राहकहरु आउने गरेका छन्। बेलैमा सीप सिकेर उनलाई अहिले आफू लगायत परिवारको रेखदेख गर्न सहयोग पुगेको छ। उनका भान्जा र बहिनीहरुले पनि उनलाई पसलमा सघाउने गरेका छन्। उनी सामान डेलिभरी गर्न जाँदा उनीहरुले नै कारोबार सम्हाल्ने गरेका छन्।

बिजुली पसल गर्दा खुद्रा व्यापारीभन्दा होलशेलमा बेच्नेलाई बढी फाइदा हुन्छ भनेर अनिल भन्छन्। येत्तिका समय काठमाडौँ बसेपछि यहाँको महंगीले उनलाई आउने दिनहरुमा आफ्नै घर पो फर्किने हो कि भन्ने प्रश्न आफैसँग गर्न बाध्य बनाएको छ। अब आफ्नो गाउँ; बनियानीलाई पनि बिजुली बत्तिहरुले सजाउने उनको विचार छ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल