के तपाईंलाई चटपटे मिठो लाग्छ ?

चटपटेमा स्वास्थ्यका लागि हानिकारक अखाद्य पदार्थ मिसाएर बेचिएको खबर पनि सुन्नुभएको छ ?

त्यस्तै खबरले चटपटे खानै छाड्नुभएको त छैन नि?

अब चिन्ता नगर्नुहोस् ! काठमाडौँभरि नै स्वस्थकर चटपटे बेच्ने उद्देश्यले चटपटे चेन(Chatpate Chain) खुल्ने तयारीमा छ

चटपटे भन्ने बित्तिकै बाटोको छेउमा, कागजमा पोको पारेर धुलो र धुवाँको वास्तै नगरी खाइने दृश्य आँखाको अगाडी आइहाल्छ । अझै अखाद्य पदार्थ मिसाएर बेचिने गरेको भन्ने खबरले चटपटे खान मन पराउने चटपटेका पारखीलाई त झनै ठुलो पीडा दिने गरेको छ ।

नखाउँ भने मनले थाम्न नसकिने अनि खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने पो हो कि भन्ने चिन्ताले चटपटेका पारखीहरु ठुलै द्विविधामा परेका छन् । प्राय चटपटे व्यावसायलाई बाटोको छेउमा ठेलामा बेच्न बस्ने, मैला अनुहारहरुले गर्ने हेयको व्यवसाय ठान्ने गरेको पनि पाइन्छ ।

अझ ‘चटपटे बेच्ने काम नै मधेशी समुदायका नागरिकहरुको हो’ भन्ने मान्याता पनि नेपाली समाजमा व्यापक रुपमा रही आएको छ । हिजोआज यो सोँचमा व्यापक परिवर्तन आएको पाइएता पनि कतिपय पढेलेखेका युवाले अझै यो व्यवसायलाई निम्न स्तरकै व्यावसायको रुपममा लिने गरेको भेटिन्छ  ।

यहि पढेलेखेका युवाहरुको भिडमा विगत ५ वर्ष सम्म शिक्षण पेशामा आवद्ध एक शिक्षक चटपटे बेच्न तम्सिएका छन् । अझ उनि ‘चटपटे खानु अस्वस्थकर हुन्छ’ भन्ने व्याप्त मान्यतालाई चिर्ने महत्वाकांक्षी योजना लिएर उत्रिएका छन् !

झापामा जन्मे-हुर्केर उच्च शिक्षा अध्ययनको सिलसिलामा काठमाडौँ छिरेका परशुराम अधिकारीले स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा स्नातकोत्तर सम्मको पढाई पुरा गरे ।

त्यस पछिको करिव ५ वर्ष सम्म उनले काठमाडौँकै जोरपाटीमा पर्ने चिल्ड्रेन्स लिबर्टी इंगलिस बोर्डिंग स्कुलमा एकेडेमिक कोअर्डिनेटर (Academic Coordinator)का रुपमा जागिर गरे  । उनि त्यहाँ माध्यमिक तहका विद्यार्थीलाई स्वास्थ्य, वातावरण तथा जनसंख्या अनि सामाजिक शिक्षा पढाउथे ।

उनि त्यहाँ बालबालिकाहरुको कलिला मस्तिष्कमा पाठ्यक्रमको ज्ञानसंगै नैतिक चेतना र सामाजिक दायित्वको ज्ञान समेत भर्ने भरपुर प्रयास गर्थे । यही क्रममा कुनबेला आफैमा सामाजिक मान्यता भन्दा  माथि उठेर केहि नयाँ गर्न सक्ने हिम्मत पलायो उनले थाहै पाएनन् । उनलाई ‘कामको सम्मान गर्न सिकाएर मात्रै नहुने रहेछ, बरु आँफै उदाहरण पनि बन्न सक्नु ठुलो कुरा हो’ भन्ने लाग्न थाल्यो ।

त्यस पछि शिक्षण पेशा अङ्गाल्दै गर्दा नै उनले जोरपाटीमै डेरी र पानीको डिलर सहितको किराना पसल पनि सुरु गरे । यो व्यावसाय अहिले पनि उनकी श्रीमतीले सम्हाली नै रहेकी छिन्।

यस व्यावसायिक अनुभवबाट पनि परशुरामलाई आफ्नै व्यवसाय सञ्चालन गर्ने र त्यसलाई स्थापित गर्ने बिचारमा थप उर्जा मिल्यो ।  अनि करिव १० महिना अघि उनले जागिर छोड्ने निर्णय गरे ।

त्यस पछि उनले बानेश्वर पानी टंकी बाट थोरै उत्तरतर्फ रहेको टिनको छानो भित्रको सानो बजारमा एउटा ठाउँ ओगटे । अहिले उक्त स्थानमा उनी स्वस्थकर चटपटे, पानीपुरी, आइसक्रिम र चिसा पेय पदार्थ बेचिरहेका भेटिन्छन् ।

उनीसँगको छोटो कुराकानीबाटै थाहा पाउन सकिन्छ, ‘उनको मनमा नेपाल मै पहिलो स्वस्थकर र स्वादिलो ‘चटपटे चेन’ खोल्ने महत्वाकांक्षी योजनाको मार्गचित्र बन्दैछ’ ।

भन्छन् ‘नेपालमा एक किसिमले चटपटे भन्ने बित्तिकै अखाद्य बस्तु मिसाएर बेचिने फोहोरी खानेकुरा भन्ने मान्यता स्थापित नै भएको भेटिन्छ । यहि कारणले चटपटे निकै मिठो र स्वस्थकर खानेकुरा बन्न सक्छ भन्ने सोचका साथ म अगाडी आएको हु । यति मात्र हैन, चटपटे  भारत र नेपालको साझा संस्कृति बोक्न सक्ने, र दुवै देशमा धेरै बिक्रि हुने व्यवसायमा पनि हो । त्यसैले यसमा लगानी गर्ने सोँचमा म पुगे ।’

हार्पिकमा प्रयोग हुने केमिकल, भाँडा माझ्न प्रयोग हुने अखाद्य बस्तु जसलाई चिनी अमिलो भन्ने गरिन्छ, जस्ता बस्तु प्रयोग गरि चटपटे बनाइने भन्दै एकपटक निकै ठुलो हल्ला चलेको भन्दै उनले त्यस्तो अखाद्य पदार्थ प्रयोग नगर्ने पनि बताए । चटपटेमा अजिनामोटो पनि प्रयोग नगरी उनी चटपटे तयार पार्छन् ।

अहिले उनले वानेश्वरमा सुरु गरेको चटपटे व्यवसायमा चना, केराउ, भटमास, जस्ता स्वास्थ्य वर्द्धक गेडागुडीको प्रयोग हुन्छ भने मसला पनि लसुन, अदुवा, जीरा, दालचिनीलाई आफैले पिसेर बनाइएको हुन्छ । धुलो खुर्सानी प्रयोग गर्दैनन् भने उनले अमिलोको रुपमा पनि लप्सी, चुक वा कागती नै प्रयोग गर्ने गरेका छन् ।

आफूकहाँ आएर चटपटे खाएका ग्राहकले अन्य ठाउँको चटपटे नखाने भन्दै धुलो धुवाँ र फोहोर नआउने गरि बाटो भन्दा पर आफ्नै मसला प्रयोग गरेर बनाएको चटपटेले अहिले दैनिक दुई हजार त फाइदा मात्रै दिने गरेको बताए ।

उनले अहिले SEE को परिक्षा दिएर बसेकी एक विद्यार्थीलाई रोजगारी पनि दिएका छन् भने आफु चटपटे चेन खोल्ने तयारीमा दिनभरी ब्यस्त रहने गरेका छन् ।

चटपटे खाने ग्राहक बेलुकीपख धेरै हुने भएकाले चटपटे चेन खोलेर फुल टाइम काम गर्न नसक्ने, पढ्दै गरेका विद्यार्थी, एकल महिला, सामाजिक र आर्थिक रुपमा विपन्न व्यक्तिको जिम्मामा दिने र मासिक निश्चित रकम मात्रै उनीहरुबाट लगानी उठाउनका लागि लिएर बाँकी फाइदा स्वयम् काम गर्नेलाई नै दिने उनको योजना छ । सबै चटपटे चेनमा उनले नै मसला र अन्य सामाग्री पुर्याउने र अरुबाट अखाद्य पदार्थ किनेर चटपटेमा नहाल्ने उनको योजना छ ।

अहिले वानेश्वरमा खिर, चना-भुजा, आलु चना, पकौडा, पुरी तरकारी जस्ता खाजा बनाएर वरिपरिका संस्थाहरुमा खाजा पुर्याइदिने काम पनि उनले गरेका छन् । उनको स्वस्थकर चटपटे पसलमा कागती पानी पनि पाइन्छ जसलाई उनले कोक, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थलाई विस्थापित गर्ने उद्देश्यका साथ सुरु गर्दैछन् ।

चटपटे अखाद्य पदार्थ हो र यसलाई खानु हुँदैन भन्ने आम सोँच परिवर्तन गरेर स्वस्थकर चटपटे बेच्ने र यसको व्यवसायलाई व्यवस्थित रुपमा प्रवर्द्वन गर्ने उनको उद्देश्य रहेको छ । विशेष गरेर छोरीमान्छेले मात्रै चटपटे खाने गरेको चलन हटाउँदै चटपटेलाई सबैले खाने परिकारका रुपमा स्थापित गराउने उनको चाहाना छ ।

आजसम्म विदेश नगएको र काम गर्नकै लागि विदेश जानु पनि नपरोस भन्दै युवाका लागि राम्रो आम्दानि हुने चटपटे चेनको अवधारणा उनले अघि सार्दैछन । पुराना कुरालाई प्रविधिसंग गाँसेर अगाडी ल्याउनुपर्ने भन्दै लागि परेका परशुरामको चटपटे व्यवसाय र चटपटे चेनको योजना धेरै युवाको लागि पाठ सिक्ने अवसर पनि बन्न सक्छ ।

 

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल