कम्पनीले नै राखिदिएको प्रिन्ट (डिजाइन) भएको टिसर्ट कत्ति लगाउनु ? आफुले लगाउने टिसर्टको प्रिन्टको डिजाइन पनि आफैले रोज्ने कि ?

अझ कलाका पारखीहरु, जो आफै चित्र बनाउँछन्, उनीहरूले त अब आफैले बनाएको चित्र आफ्नै टिसर्टमा प्रिन्ट गरि लगाएर हिड्न मिल्ने भएको छ ।

हो, ग्राहकले रोजेको चित्र, गुणस्तरीय कपडाबाट बनेको टिसर्टमा छापी लगाउने अवसर जुराईदिनु “मेरो चित्र” को विशेषता हो । ‘मेरो चित्र’ ब्रान्डका यस्ता आकर्षक टिसर्टहरुको एउटा आउटलेट पाटन दरवार स्क्वायरबाट ग्वार्को जाने बाटोको देब्रेतिर रहेको पार्किंग क्षेत्रमा भेट्न सकिन्छ ।

यसलाई श्रेष्ठ वेयर्स(Shrestha wears) ले सञ्चालन गर्दै आई रहेको छ । श्रेष्ठ वेयर्सको कुरा गर्दा पोखराको फेवाताल नजिकै आफ्नो पुर्ख्यौली पेशाकै रुपमा कपडा सिलाउदै आएको श्रेष्ठ परिवार जोडिन आई हाल्छ ।

श्रेष्ठ परिवारका तीन छोराहरु मध्य जेठा छोरा उद्यव सधै केहि नयाँ गर्नु पर्छ भन्ने सोच राख्थे, माहिला छोरा खेमले व्यावसायसँग सम्बन्धित पढाई पुरा गरे अनि कान्छा छोरा दिल भनेचित्रकलामा अब्बल बन्दै गए ।

बुवाकै पालादेखि उनको परिवारले कपडामा बुट्टा भर्ने(embroidery) को काम गर्थ्यो । त्यतिखेर होलसेलको व्यापार राम्रै चलेको थियो तर पुस्ता परिवर्तन भएसँगै उद्यव, खेम र दिल, तीनै दाजुभाइलाई व्यापार अब फरक किसिमले चलाउनुपर्छ भन्ने लाग्न थाल्यो ।

बाबुको पुस्तौ देखि चली आएको कपडामा बुट्टा भर्ने व्यवसाय र आफ्नो चित्रकला मोहलाई जोडेर कान्छा छोरा दिलले व्यवसाय संचालन गर्ने सोच बनाए । अनि दाजु खेम श्रेष्ठको व्यावसायिक लेखापढी र कानुनको ज्ञान सँगै  अर्का जेठो दाइ उद्यव श्रेष्ठको पनि सहयोग मिलेपछि पुस्त्यौनी व्यवसायले नयाँ पारिवारिक व्यवसायको स्वरूप पायो ।

होली, शिवरात्री, बुवाको मुख हेर्ने दिन, भाइटिका जस्ता विशेष अवसरहरूमा नेपालमै बनेका अनि आफ्नै इच्छा अनुसारको चित्र राखेर छाप्न पाइने टिसर्ट, ज्याकेट स्वेटर जस्ता माथिल्लो जिउमा लगाउने कपडाहरू आज पनि उत्तिकै उत्साहका साथ बिक्री हुने गर्छन् ।

कपडामा बुट्टा भर्न छाडेर कान्छा छोरा दिलको चित्र बनाउने प्रतिभालाई प्रयोग गर्दै टिसर्टमा उनैले बनाएको चित्र छाप्ने, व्यवसायलाई अझै विस्तार गर्ने अनि व्यावास्थित रूपले चलाउने नयाँ पुस्ताको महत्वाकांक्षा बुवाले भने झट्टै बुझ्न चाहेनन् । जमिरहेको व्यापारको स्वरूप बिगार्दा सबै भताभुङ्ग हुने पो हो कि भन्ने चिन्ता उनमा थियो । पुस्तान्तरको ठुलो खाडल त्यहीँनेर सुरु भयो ।बुवालाई सम्झाउन र नयाँ पुस्ताको विचारमा ढाल्न दाजुभाइलाई निकै सङ्घर्ष गर्नुपर्‍यो । ६० को दशकको सुरुतिर देशमा चलेको परिवर्तनको आन्दोलन र उनको घरमा बुवालाई सम्झाउन गर्नुपरेको मिहेनत दुवैले सँगैजस्तो निकास पायो ।

२०६० मा “Design your own Tshirt” भन्दै दाइ उद्यवले टिसर्ट छाप्न थाले । आफ्नो टिसर्टमा आफैले बनाएको चित्र छापेर लगाउने त्यो काइदा धेरै युवामाझ चल्तीमा आयो । २०७२ सम्म आइपुग्दा व्यवसायले कम्पनीकै स्वरूप पायो र “श्रेष्ठ वेयर्स” नाममा दर्ता भयो अनि खेम र दिलको प्रयासमा "मेरो चित्र" ब्राण्ड स्थापित भयो ।

होली, शिवरात्री, बुवाको मुख हेर्ने दिन, भाइटिका जस्ता विशेष अवसरहरूमा नेपालमै बनेका अनि आफ्नै इच्छा अनुसारको चित्र राखेर छाप्न पाइने टिसर्ट, ज्याकेट स्वेटर जस्ता माथिल्लो जिउमा लगाउने कपडाहरू आज पनि उत्तिकै उत्साहका साथ बिक्री हुने गर्छन् ।

आज पोखरामा तीन र काठमाडौँमा एउटा गरी श्रेष्ठ वेयर्सको चारओटा “मेरो चित्र” आउटलेट छन् । आफ्नै टिसर्ट छाप्ने कारखाना अनि १६ जना भन्दा बढी कामदारका साथमा चलेको उक्त कम्पनी २०७२ मा दर्ता भएको थियो । पुस्तान्तरसँगै व्यवसायको स्वरूप परिवर्तन, कम्पनी दर्ता अनि पोखरा र काठमाडौँ उपत्यकामा गरी चारओटा आउटलेट खोल्दासममको सङ्घर्ष, सिकाई र उपलब्धिका बारेमा पाटन दरवार स्क्वायरको “मेरो चित्र” आउटलेट सम्हालिरहेका खेम र सुजनाको दम्पतीले सम्झी-सम्झी, चाखलाग्दो तरिकाले आफ्नो पारिवारिक व्यवसायको कथा सुनाए ।

BBS, LLB र राजनीतिशास्त्रमा स्नातकोत्तर को पढाई पुरा गरेर CA पढ्दापढ्दै छोडेका २८ वर्षका खेम र उनकी पत्नी सुजनाको मनले विदेशी जीवनशैलीसँग सजिलै घुलमिल हुन मानेन, जागिर गरेर पैसाका लागि महिनाको अन्त्य नै कुर्नुपर्ने बाध्यतामा अल्झिन पनि उनीहरु सकेनन् । आफ्नै व्यवसायमा मात्रै रचनात्मकताको कदर हुने भएकाले शैक्षिक डिग्री लिए पनि जागिर खाने वा सीप बेच्न विदेशिने विकल्प तिर खेम लागेनन् । बरु आफूले पढेर जानेका कुरालाई प्रयोग गरेर व्यवसायलाई नै फस्टाउने बनाइदिए ।

भाइ दिल श्रेष्ठले पनि पोखरामै बसेर कपडामा छाप्ने नयाँ-नयाँ चित्र र डिजाइन बनाउँदै ५० नाघेका बुवा आमालाई व्यवसायमा सघाउँदै छन् ।

खेमले आफू ३ वर्षको हुँदादेखी नै कपडाको वरिपरि कै वातावरणमा हुर्किएको हुनाले अहिले उनलाई त्यो अनुभवले सहयोग गरेको बताउँछन् ।

“Wear local, feel global” भन्दै देशमै बनेका कपडा लगाउने क्रान्तिकारी नै सुनिने किसिमको नारा पनि उनीहरूको व्यवसायको आकर्षक पक्ष हो । विदेशी उत्पादनको विकल्पै बन्न खोजेको श्रेष्ठ वेयर्सको शुद्ध नेपाली खद्दर, ढाका, हेम्प र बाँस प्रयोग गरी बनाइएका पूर्णतः स्वदेशी उत्पादन पनि बजारमा छन् ।

आज बाटोमा हिँड्दा पनि २०/२५ जनाको भिडमा ३/४ जनाले स्वदेशी उत्पादनकै कपडा लगाएको देख्दा मन खुसी हुने खेमले बताए । नेपाली उत्पादनको प्रयोग बढ्नु र युवा उपभोक्तामा पनि त्यो चेतना पलाउनु साथै नेपाली उत्पादनले पनि अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन दिएर विकल्प नै बन्न सक्नु निकै सुखद भएको उनको अड्कल छ । स्वदेशी उत्पादन भन्दैमा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने गुणस्तर र मूल्य छ भने त्यस्तो उत्पादनले ग्राहकको ध्यान तान्न सक्दैन । गुणस्तर दिँदा पनि प्रतिस्पर्धाको लागि विदेशबाटै कच्चा पदार्थ ल्याउनु पर्ने, केही वर्ष अगाडिसम्म रहेको लोडसेडिंगको समस्या अनि विदेशी कामदार नै ल्याउनुपर्ने बाध्यताले मूल्यमा प्रतिस्पर्धा गर्न अझै पनि गाह्रो भएको उनले बताए ।

साथीभाइको माझ लाज हुने मानसिकताले बुवाआमालाई पसलमा सघाउन नचाहने, साथीभाइका माझ “अफिसमा छु” भन्दा सानको महसुस गर्ने र “पसलमा छु” भन्न लजाउने आजकालको नेपाली युवाको मानसिकताले सधैँ आफ्नै व्यक्तित्व विकासमा नै हानि गर्ने कुरा आफ्नै अनुभवबाट उनले सिकेको बताइन् ।

आजकाल निरन्तर बत्ती आउँदा धेरै राहत भएको र नेपाली कामदारले नै CTEVT बाट दिने सिलाई-बुनाई र कटिंग  सम्बन्धी तालिम लिएर आएमा नेपाली नागरिकले नै रोजगारी पाउने र भारतीय कामदारलाई दिनुपर्ने ३/४ महिनाको बिदाको समयमा पनि उत्पादन गर्न सकिन्छ । त्यसले मूल्य घट्ने, गुणस्तर पनि दिन सकिने र रोजगारीको अवसर पनि सृजना हुने उनको अड्कल छ ।

खेमले आफू ३ वर्षको हुँदादेखी नै कपडाको वरिपरि कै वातावरणमा हुर्किएको हुनाले अहिले उनलाई त्यो अनुभवले सहयोग गरेको बताउँछन् ।

ग्राहकको चाहना बुझ्ने, काम गर्ने, बोल्ने जस्ता आधारभूत किसिमको व्यावसायिक सीप सिक्ने काम उनको पारिवारिक वातावरणले नै पुरा गरायो । त्यस कारण पनि पुर्खाले गर्दै आएको व्यवसाय छ भने त्यसैबाट सिकेर परिमार्जित रूपमा त्यही व्यवसायलाई नै निरन्तरता दिनु र त्यसैमा नयाँपन र आधुनिकता ल्याउनु श्रेयस्कर हुने उनको सुझाव छ । त्यसो भएमा पुरानो पारिवारिक सम्बन्धले पनि व्यवसाय फस्टाउन सहज हुने उनको अनुभव छ । अनुभव र ज्ञान नभएको नयाँ ठाउँमा अन्धाधुन्ध लगानी गर्नाले लगानी नै डुब्ने ठुलो डर हुन्छ । त्यसैले नयाँपनको नाममा र आफ्नै व्यवसाय स्थापना गर्ने होडमा नजानेको र अनुभव नभएको विषयमा हात हाल्नु भनेको हिम्मतिलो काम नभएर मुर्खता हुन जान्छ ।

आफ्नो शैक्षिक ज्ञानले पनि व्यवसायमा आफूलाई निकै सहयोग गरेको भन्दै ठुलै प्रगति गर्नु छ भने पढाइलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने खेमले बताए । एक्कासि ठुलो आम्दानी हात नपर्ने र धैर्यता चाहिने अनि कामको सम्मान गर्नुपर्ने कुरा श्रीमती सुजनाले बताइन । मान्छेले बिना अनुभव नै सिधै म्यानेजर बन्ने र स्टाफ कजाउने सपना देख्नु मुर्खता मात्रै हुन्छ ।

साथीभाइको माझ लाज हुने मानसिकताले बुवाआमालाई पसलमा सघाउन नचाहने, साथीभाइका माझ “अफिसमा छु” भन्दा सानको महसुस गर्ने र “पसलमा छु” भन्न लजाउने आजकालको नेपाली युवाको मानसिकताले सधैँ आफ्नै व्यक्तित्व विकासमा नै हानि गर्ने कुरा आफ्नै अनुभवबाट उनले सिकेको बताइन् ।

पुरै परिवार नै मिलेर चलाइरहेको स्वदेशी कपडाको उत्पादनलाई स्थापित गर्ने “मेरो चित्र”को लक्ष्य र फस्टाउँदै गएको स्वदेशी उत्पादन किन्ने संस्कृति अनि स्वदेशी उत्पादनको बढ्दो गुणस्तरले यो व्यवसायमा प्रशस्त सम्भावना रहेको र यस सम्बन्धी सीप सिकेरै पनि मासिक लाखौँ आम्दानी गर्न सकिने सम्भावनालाई नेपाली युवाले बेलैमा बुझ्नुपर्ने उनीहरूको धारणा छ ।




0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल