हेर्दा पैँतिस-छत्तिस वर्षीय जस्ता देखिने झुस्स परेको मसिनु दाह्री पालेका अनि अलि होचो कदका दिवस श्रेष्ठले ‘नमस्कार, सामान डेलिभरी दिएर भर्खर आएको, हात सफा गरेर एक्कै छिनमा आईहाले है’ भन्दै हामीसँग मुस्कुराउदै भित्र छिरे ।

दिउसोको १ बजि सकेको थियो उनले त्यस बेलासम्म पनि खाना खान भ्याएका रहेनछन्, तर हामीले भने खाजा समेत खाई सकेर त्यहाँ पुगेको हुदा उनले खाना खाऊन्जेल बरु डिस्प्लेमा राखिएका हस्तकलाका सामग्रीहरु हेरेर बिताउने बिचार गर्यौ ।

ललितपुरको कुपन्डोलमा ‘आर्यमन हस्तकला’ को नाममा उनको सानो पसल छ । हेर्दा मनै लोभ्याउने, बेत, बाँस र निगालोको प्रयोगले हातैले बनाएका सोफा, कुर्सीहरु, मुढा, टेबल, ह्याङ्गर, रकिङ चेयर, सनबाथ चेयर, कोक्रो, जुत्ता र बुक स्ट्याण्ड अनि त्यस्तै थुप्रै किसिमका सजावटका सामानहरु हामीलाई पसलमा बसेका उनका भाइ निवस श्रेष्ठले देखाए ।

केही बेर पछि दिवस श्रेष्ठ पनि भान्साबाट निस्किए र हामीसँग कुराकानी गर्न थाले, बेतबास सम्बन्धि काम उनको परिवारमा कुनै नौलो कुरा हैन, दिवसले उनका आमा र मामाले पनि यही काम गरेरै मनग्य आम्दानी गरेको देखेका थिए । यता इमाडोलमा सानो किराना पसल गरेर बसेका दिवसलाई भूकम्प र नाकाबन्दी पछि भने परिवार थेग्नै गार्हो परिरहेको थियो । त्यसैको फलस्वरूप, मुलुक २०७२ सालको भूकम्प र नाकाबन्दीको चेपुवामा परेका बेला दिवस भने आफ्नै व्यवसाय सुरु गर्न तिर लागे । 

रोचक के भने जब दिवस बेत बास र हस्ताकाला सम्बन्धि व्यवसाय सुरु गर्न भनि तम्सिए, उता भने घरमा श्रीमतीले उनलाई थाहै नदिई श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन भनि जिल्लाबाट रहधानीको लागि सुईकृती समेत लिइ सकेपछि मात्रै उनले थाहा पाए। तर दिवसलाई विदेश जान पटक्कै मन थिएन, उनी नेपाल मै बसी केहि गर्न चाहन्थे र बेत, बास को व्यावसायमा पैसा छ भन्ने कुरा बुझी सकेका थिए ।

“गोजीमा पच्चिस हजार थियो र मैले ३ हजार मात्रै तिरेर चौँतिस हजारको सामान मामा मार्फत मगाएँ र  दश हजारमा कोठा बैना गरेँ । साथीहरूसँग हजार, दुई हजार, पाँच हजार गर्दै खुद्रा सापटी लिएर पैसा तिरेँ र व्यवसाय सुरु गरेँ’ सुरुवाती दिन सम्झँदै उनले भने ।"

पसल भएको कुपण्डोल क्षेत्र नै हस्ताकाला र विशेष गरेर बेत बासको मुख्य बजार भएको बताउने श्रेष्ठको पसलमा उपत्यका भित्रकै मान्छेहरू सजावटका साथै टिकाऊ र आकर्षक सामग्रीको खोजीमा आइपुग्छन् । त्यसमा पनि हिजोआज रेस्टुरेन्ट र क्याफे व्यवसायीहरू उनको पसलबाट सजावटका सामग्री साथै फर्निचरहरु किन्न आउने गरेकाछन् । विदेशमा पनि यिनै कच्चा पदार्थको प्रयोग गरेर मेसिनले सामान बनाउँछ तर नेपालमा जस्तो हातैले नबन्ने भएकाले विदेशमा पनि यसको माग छ ।

 दिवस भन्छन् “गाउँघरतिर काम नलागेर फालिएका बाँसका टुक्रा र प्रकृतिले दिएका अन्य स्रोतको उपयोग गरेर सुन्दर हस्तनिर्मित सामग्रीबाट कलाको उत्थान पनि हुने अनि आम्दानी पनि हुने हुदा यो कामलाई सरकारले पनि प्राथमिकता दिनुपर्छ र उचित तालिमको व्यवस्था गर्नुपर्छ”। तर स्थापनाको झन्डै तीन वर्षमा सरकारले आफूबाट कर मात्रै लिएको तर हस्तकला प्रवर्द्धनको वातावरण सृजना गर्न नसकेकोमा उनको गुनासो छ ।

उनका अनुसार काठमाडौँमा बेतबासका सामानहरुको सप्लाई गरि नसक्नुको डिमाण्ड छ, तर उत्पादनका लागि तालिमप्राप्त र नेपाल मै केहि गर्न चाहने व्यातिहरुको अभाव छ भकच्चा पदार्थ पनि पाउन गार्हो छ।

‘मेरी आमाले पनि बिराटनगरमा यही व्यवसाय चलाउनुहुन्छ तर पुरै भारतीय र बङ्गाली कालिगढ़ छन् । मैले यहाँ तीन पुरुष र दुई महिला गरि पाँच नेपाली नागरिकलाई रोजगारी दिएको छु । रोजगारीका लागि दिवसको प्राथमिकतामा शारीरिक र मानसिक दुर्वलता भएका, प्रत्यक्ष रोजगारी पाउन गाह्रो हुने व्यक्ति र एकल महिलाहरू पर्दछन् । दिवस उनिहरुलाई हस्तकालाको तालिम दिने र सधै जागिरे  मात्रै बनाउने भन्दा पनि आफूजस्तै उद्यमी हुन सिकाउने लक्ष्य राख्दछन्।

त्यस्तै नेपालको पहाडी र हिमाली क्षेत्रमा विविध प्रकारका बेतका बिउ ल्याएर सामुदायिक बन नै बनाउन सके त्यसले हस्तकलालाई कच्चा पदार्थको आने पूर्ति त गर्छ नै, साथै पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले सरकारले उक्त अवधारणा ल्याउनु पर्ने कुरा श्रेष्ठले बताए ।

‘म जस्तै युवा लाखौँ खर्चेर विदेश जान्छन तर मैले भने पच्चिस हजारकै लगानीमा व्यवसाय सुरु गरेको हुँ । अनि विदेशबाट फर्किनेहरुले पनि कमाएको सबै पैसाले घर र गाडी किन्छन् तर मेरो सोच के छ भने घर र गाडी किन्ने पैसाले अर्को व्यवसाय खोल्नुपर्छ ।’ दृढताका साथ उनले भने ।

‘यही ढाई वर्षको मिहेनतले लालितपुरकै बखुन्डोलमा यिनै हस्तकलाको फर्निचर मात्रै प्रयोग भएको रेस्टुरेन्ट पनि खोल्दै छु, जहाँ नेपाली उत्पादनका ढिँडो, पिंडालु, गुन्द्रुक आदिको परिकार मात्रै बेचिनेछ । अबको पाँच वर्षमा एक हजार नेपालीलाई रोजगारी दिने मेरो लक्ष्य छ ।’  एकै सासमा श्रेष्ठले आफ्नो प्रगति, आत्मविश्वास र लक्ष्य सबै खोले ।

गाउँ-गाउँका युवाहरुले उत्पादन गरेको हस्तकलाको सामग्री सबै आफूले उचित मूल्यमा किनिदिएर रोजगारीको सृजना गर्न सक्ने बताउने दिवसको युवालाई विदेश नगएर आफूसँग सहकार्य गर्न पनि आग्रह छ ।

पैतीस वर्षे युवाको यो आत्मविश्वास, प्रगति र लक्ष्य देखेर जो कोही जिल्ल पर्नु सामान्य लाग्थ्यो । उनकै हस्तकलाको केही सामग्री किनेर “आर्यमन हस्तकला”का प्रोपाइटर दिवस श्रेष्ठलाई धेरै धन्यवाद दिँदै हामी फर्कियौँ । देश विकसित हुन युवाहरु नै उद्यमी हुनु पर्छ, कामको सम्मान गर्न सिक्नुपर्छर सरकारको मुख मात्रै नताकेर आफैले गरेर पनि सरकारलाई जिम्मेवार बनाउने प्रयास गर्नुपर्छ भन्ने कुराको जीवन्त उदाहरण हुन श्रेष्ठ ।

फर्कदा लाग्यो, ‘भूकम्प र नाकाबन्दीले देशको हालत त खराब भएकै थियो, आफू पनि ऋणमा डुबेको बेला आँट, इमान र लगनले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेर आज अरू पाँच जनालाई पनि रोजगार बनाइरहेको उनको सङ्घर्ष र सफलताको कथा अनि महत्वाकांक्षी लक्ष्य धेरै युवाका लागि प्रेरणादायी छ ।’

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल