Photo Source : Shuvayatra

एनएमबी बैङ्कले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरूलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा दिन सुरु गरेको छ। एनएमबी बैङ्क, राष्ट्रिय युवा परिषद् र रिटर्नी माईग्रेन्ट नेपालबिच त्रिपक्षीय साझेदारी भएको ६ महिना पछि बैङ्कले ऋण दिन थालेको हो।

बैङ्कबाट ऋण लिन सुरुमा रिटर्नी माईग्रेन्ट नेपालबाट सिफारिस लिनुपर्ने हुन्छ। सिफारिस सहित अरू तोकिएको कागजात बैङ्कमा बुझाएपछि मात्र ऋण पाइन्छ। 

ऋण लिन के कस्तो योग्यता हुनुपर्छ?

  • उमेर ५५ वर्ष नकटेको
  • कम्तीमा ६ महिना विदेशमा काम गरेर फर्किएको
  • विदेशबाट फर्केर आएको ३ वर्ष नकटेको
  • कुनै पनि देशको स्थायी बसोबास ((PR/Green Card Holder) प्राप्त नगरेको
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको
  • अन्य कुनै बैङ्कबाट कुनै किसिमको ऋण नलिएको
  • वित्तीय साक्षरता तालिम लिएको

के कागजपत्र चाहिन्छ?

  • नेपाली नागरिकताको प्रतिलिपि
  • पासपोर्ट, भिसा, अराइभल स्टिकर, श्रम स्टिकरको प्रतिलिपि
  • विदेशमा सिकेको सीप खुल्ने कागजको प्रतिलिपि
  • विदेशमा सिकेको सीप उपयोग हुने व्यावसायिक परियोजना
  • व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • प्यान (PAN) प्रमाणपत्रको प्रतिलिपि
  • सवारी साधनसँग सम्बन्धित व्यवसायका लागि आवेदन कर्ताको ड्राइभिङ लाइसेन्स अनिवार्य
  • लालपुर्जाको प्रतिलिपि (स्थायी ठेगाना ट्रेसका लागि)
  • वैदेशिक रोजगार बोर्डमा सूचीकृत भएको भए सिफारिस पत्र

ब्याज कति हुन्छ?

यो ऋण वार्षिक ७% ब्याजदरमा पाइन्छ।

धितो के राख्नुपर्छ?

जुन व्यापार/व्यवसायका लागि ऋण लिइएको हो त्यही व्यवसायनै ऋणको ब्याज र साँवा नतिरुन्जेलसम्मको लागि लागि धितोका रूपमा रहन्छ।

प्रक्रिया के कस्तो छ?

  • माथि उल्लेख गरिएको कागजपत्र सहित रिटर्नी माइग्रेन्टस् नेपालमा जानुपर्छ।
  • यसरी कागजपत्र बुझाईसकेपछि रिटर्नी माइग्रेन्टस् नेपालले निम्न कुराको पहिचान गर्छ।
    • ऋण लिन चाहेको व्यक्तिले ऋणको उपयोग कसरी गर्छन्?
    • उद्यमशीलता/व्यवसाय गर्नकै लागि ऋण लिन खोजेको हो/होइन?
    • सिप अनुसारको व्यवसाय गर्न खोजेको हो/होइन?
    • बनाएको व्यवसाय वा परियोजनाले पछि ऋण तिर्न सक्छ/सक्दैन?
    • अहिले ऋण लिइहाल्छु, पछि सरकारले मिनाहा पो गरिदिने हो कि वा अनुदानको रूपमा परिणत हुने हो कि भन्ने लोभले पो ऋण लिन खोजेको हो कि?
  • यी सबै कुराको आधारमा उपयुक्त व्यक्ति पहिचान गरेर रिटर्नी माइग्रेन्टस् नेपालले बैङ्कलाई सिफारिस गरिदिन्छ।
  • यो सिफारिस लिएर एनएमबी बैङ्कमा गई ऋणको लागि आवेदन दिएपछि मात्र बैङ्कले ऋण दिन्छ।

आफूले सिकेको सिप अनुसारको व्यवसाय नभए के हुन्छ?

सिकेको सिप अनुसारको व्यवसाय नभए गर्न खोजेको/रुचि भएको व्यवसाय सम्बन्धी तालिम दिने व्यवस्था पनि छ। यो तालिम राष्ट्रिय युवा परिषद्ले दिन्छ।

व्यवसायको परियोजना बनाउन नआउने भए के गर्ने?

परियोजना बनाउन नआउने भए सामान्य विवरण लेखेर राष्ट्रिय युवा परिषद् जाने र परिषद्ले वित्तीय साक्षरता अन्तर्गत परियोजना कसरी बनाउने भन्ने तालिम पनि दिन्छ।

सिफारिस लिन कहाँ जाने?

रिटर्नी माइग्रेन्ट नेपालको केन्द्रीय कार्यालय

चाबहिल (दीर्घायु गुरु अस्पताल पछाडिपट्टि), काठमाडौँ

फोन: ०१- ४४७५७८३

सिफारिस पत्र नलिई बैङ्कले ऋण नदिने हुँदा एनएमबी बैङ्क जानु अघि रिटर्नी माइग्रेन्ट नेपालको केन्द्रीय कार्यालय गएर सम्पूर्ण प्रक्रिया पुरा गर्नुहोला।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल