कर्मचारीलाई किन तालिम दिनुपर्छ त ?

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कुनै पनि संस्थामा कर्मचारीहरूको क्षमता वृद्धि गर्नु आवश्यक हुन्छ। एउटा नयाँ कर्मचारी संस्थामा  आउँदा उसलाई संस्थाका क्रियाकलापका बारेमा र काम गर्ने तरिका बुझाउनु पर्ने हुन्छ, त्यसैगरी पुराना कर्मचारीहरूको  क्षमता वृद्धि गर्न वा संस्थाको वातावरणका हरेक पक्षमा आउन सक्ने परिवर्तनको सामना गर्न कर्मचारीलाई क्षमता विकास लगायतका तालिम दिनु पर्दछ। तालिम भन्नाले कुनै कार्य गर्नका लागि उपयुक्त ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया बुझिन्छ। यसले कर्मचारीलाई काम  कसरी गर्ने भन्ने बारेमा अवगत गराउँछ।

                          व्यवसायीले कर्मचारीहरूलाई तालिम यस कारण दिनुपर्छ 

कर्मचारीको ज्ञान वृद्धि गर्न 

कर्मचारीले निश्चित काम गर्नको लागि आवश्यक पर्ने ज्ञान हासिल गर्दछन्, तसर्थ तालिम लिएका कर्मचारीहरूले राम्रोसँग काम गर्न सक्छन्। 

नयाँ  सीपको विकास गर्न

कर्मचारीमा नयाँ सीपको विकास हुन्छ। समयको परिवर्तनको साथमा कर्मचारीमा नयाँ-नयाँ  विषयहरूमा ज्ञानको आवश्यकता पर्ने हुनाले र कर्मचारीहरूको सीपलाई परिमार्जन गर्नु पर्ने हुनाले तालिम उपलब्ध गराउनु पर्छ।

कामदारको धारणा परिवर्तन गर्न

तालिमको माध्यमबाट कर्मचारीमा भएको नकारात्मक धारणा सुधार गरेर सकारात्मक बनाउन सकिन्छ।

संस्थाको कार्य सम्पादनमा सुधार गर्न 

संस्थाले कर्मचारीको तालिममा खर्च गर्नुको मूल उद्देश्य नै संस्थाको कार्य सम्पादनमा सुधार गर्नु हो। तालिमको माध्यमबाट कर्मचारीहरूको सीप तथा क्षमता वृद्धि  गरेर कर्मचारीहरूको कार्य सम्पादनको तह बढाउन सकिन्छ, जसको प्रतिफलमा संस्थाकै कार्य सम्पादन बढ्न जान्छ।

साधनहरूको प्रभावकारी रूपमा प्रयोग गर्न 

कर्मचारीहरूमा क्षमता वृद्धि  गरेर संस्थामा प्रयोग हुने विभिन्न साधनहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ। यसरी संस्थामा विभिन्न साधनहरू, जस्तै: मेसिन, सामग्री, औजारहरू आदिको दुरुपयोग कम गरेर तिनीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता बढाउनु तालिमको अर्को उद्देश्य हो। यसरी तालिमको माध्यमबाट संस्थाको श्रम, समय तथा अन्य साधनहरूको हानी नोक्सानीलाई कम गर्न सकिन्छ।

दुर्घटना हुनबाट बच्न

कर्मचारीहरूलाई सुरक्षात्मक तालिम उपलब्ध गराएर संस्थामा दुर्घटना घटाउन सकिन्छ। यसरी संस्थामा सुरक्षा कसरी अपनाउने भन्ने बारेमा तालिमहरू उपलब्ध गराएर काम गर्ने ठाउँमा सुरक्षित वातावरणको निर्माण गर्न सकिन्छ ।

कर्मचारीलाई राम्रो अवसर उपलब्ध गराउन 

कर्मचारीहरूलाई विभिन्न किसिमका अवसरहरू उपलब्ध गराउनु पनि  तालिमको अर्को उद्देश्य हो। तालिमको माध्यमबाट कर्मचारीहरूले आफ्नो क्षमता वृद्धि  गर्ने अवसर प्राप्त गर्दछन् । यसको माध्यमबाट उनीहरूले माथिल्लो पदमा बसेर काम गर्न पाउने, चुनौतीपूर्ण काम गर्न पाउने, र त्यस्तो चुनौतीपूर्ण काम सफल गरेर सन्तोष लिन पाउने, अनुभव बटुल्ने, आदि अवसरहरू प्राप्त गर्दछन्। यस्तो गर्नाले राम्रा र लगनशील कर्मचारीहरूलाई आफ्नो व्यवसायमा टिकाइ राख्न सकिन्छ।

यी विभिन्न कारणहरूले गर्दा तपाईको व्यवसायमा पनि कर्मचारीहरूलाई बेलाबेलामा तालिम दिने, सीप सिकाउने गर्नुहोस् , यसले कर्मचारीलाई मात्र नभएर तपाईको व्यवसायलाई नै फाइदा हुन्छ। 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।