व्यवसाय दर्ता खारेज

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

व्यवसाय सञ्चालन गर्दा कहिलेकाहीँ विभिन्न परिस्थिति आउन गई यसलाई निरन्तरता दिन नसक्ने र व्यवसायको नियमित सञ्चालन व्यवस्थापनलाई रोक्नुपर्ने अवस्था हुन्छ, त्यसैलाई व्यवसाय खारेज गर्ने भनिन्छ। 

यो स्वैच्छिक खारेजी हो। तोकिएको नीति नियम पालना नगरेमा सम्बन्धित निकायबाट पनि व्यवसाय खारेज गरिदिने अवस्था आउन सक्दछ। स्वैच्छिक कारणले व्यवसाय खारेज गर्नुपर्ने  परिस्थिति आउन गएमा दर्ता गर्ने निकायलाई व्यवसाय बन्दको जानकारी दिनु पर्दछ। 

सामान्यतया  व्यवसायमा आफूले योजना बनाएअनुसार नाफा आउन छोडेमा आफ्ना उत्पादन तथा सेवाका ग्राहकहरू घट्दै गएमा आफ्नो स्वास्थ्यमा नराम्रो असर परेमा साझेदार व्यवसाय भए साझेदारहरू बीच अविश्वास र आशङ्का बढ्दै गएमा र व्यवसायमा बढी जोखिम देखिँदै जान थालेमा व्यवसाय बन्द वा खारेज गर्ने बेला भएको भन्ने बुझ्नु पर्दछ।

यस्ता सङ्केतहरू देखिएमा व्यवसायलाई खारेज वा बन्द गर्ने सोच बनाई सो अनुसार आवश्यक तयारी गर्नु पर्दछ। जसले गर्दा थप समस्या पनि आउँदैन र तनाव पनि बढ्दैन। सामान्यतया व्यवसायलाई निम्न अवस्थाहरूमा खारेज वा बन्द गर्नुपर्ने हुन्छ। जस्तै:

व्यवसायमा पर्याप्त नाफा नभएमा र तिर्नुपर्ने ऋण वा दायित्व बढी भएमा ।

सञ्चालन गर्न मन नलागेमा।

आफ्नो अवस्थाले गर्दा यो उपयुक्त छैन भन्ने लागेमा। 

अन्य कुनै व्यवसाय गर्ने इच्छा भएमा। 

व्यवसाय बन्द वा खारेज गर्दा पनि दर्ता गर्ने बेलाका झैँ कानूनी प्रक्रियाहरू पुरा गर्नु पर्दछ। बन्द गर्ने अवस्थामा पनि एकलौटी व्यवसाय र साझेदारी व्यवसाय बन्द गर्ने प्रक्रियाहरू फरक-फरक छन्। जस्तै:

 एकलौटी व्यवसाय:

कुनै करार वा सम्झौता छन् भने तिनलाई बन्द गर्नु पर्दछ। 

बाँकी रहेका वस्तुहरू बिक्री गर्नु पर्दछ। 

तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ। 

सम्बन्धित सरोकारवालाहरूलाई बन्द गर्न लागेको कुराको जानकारी गराउनु पर्दछ। व्यवसायको दर्ता नम्बर आदि बन्द गर्नु पर्दछ। 

साझेदार व्यवसाय: 

सबै साझेदारहरूको बैठक गरेर बहुमतबाट बन्द गर्ने निर्णय गर्नु पर्दछ।

बाँकी वस्तुहरू भएमा लिलाम बिक्री गर्नु पर्दछ।

बाँकी सम्पत्तिको दुरुस्त हिसाब गरी नियमअनुसार सबैलाई भाग लगाउनु पर्दछ।  तिर्नुपर्ने बाँकी बक्यौताहरू तिर्नु पर्दछ। सम्बन्धित सरोकारवालाहरूलाई बन्द गर्न लागेको कुराको जानकारी गराउनु पर्दछ।  

व्यवसायको दर्ता नम्बर आदि बन्द गर्नु पर्दछ र कर कार्यालय वा अन्य सम्बन्धित कार्यालयहरूलाई तुरुन्तै जानकारी गराउनु पर्दछ। व्यवसाय सञ्चालन गरिसकेपछि सकेसम्म त्यसलाई पूर्ण सफलताका साथ  सञ्चालन गर्नु पर्दछ र अझ विस्तार गर्दै लैजानु पर्दछ। यदि त्यसो हुन सकेन भने र सञ्चालन गर्दा झन्झन् चुनौती थपिँदै जाने अवस्था आयो भने खारेज गर्नु नै उपयुक्त विकल्प हुन सक्दछ। 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।