ट्रेडमार्क दर्ता

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

कुनै फर्म कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित माल सामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको माल सामान वा सेवाभन्दा फरक देखाउन प्रयोग गरिने शब्दचिन्ह वा चित्र वा शब्दचिन्ह र चित्र तिनवटैको संयोगलाई ट्रेडमार्क भनिन्छ।

हरेक व्यवसायीहरूले आफ्नो व्यवसायको पहिचान बढाउन ट्रेडमार्क लिन सक्दछन्। यो व्यवसायको अधिकार पनि हो। ट्रेडमार्कका धेरै फाइदाहरू छन्। यो लिँदा कसैले पनि व्यवसायको ख्यातिलाई उल्लङ्घन गर्न वा बिगार्न पाउँदैन। यसले व्यवसायप्रति मानिसहरुको आकर्षण र विश्वास बढाउँछ। उत्पादित वस्तु तथा सेवाको गुणस्तरको पहिचान हुन्छ। यो व्यवसायको सम्पत्ति पनि हो। 

ट्रेडमार्क लिन चाहने व्यवसायीले नियमअनुसार यसको दर्ता गर्नु पर्दछ। पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ (संशोधन) ले ट्रेडमार्क दर्ताको व्यवस्था गरेको छ। दर्ता नगराई यसको प्रयोग गर्नु हुँदैन। दर्ताको लागि दरखास्त दिँदा नमुना समेत पेस गर्नु पर्दछ  र तोकिए अनुसारको दस्तुर पनि तिर्नु पर्दछ। दरखास्त दिएपछि आवश्यक छानवीन गरी दर्ताको प्रमाणपत्र दिइन्छ। 

एउटा व्यवसाय वा व्यक्तिले प्राप्त गरेको ट्रेडमार्क अन्य कसैले प्रयोग गर्न हुँदैन। गैह्र कानूनी तरिकाले यसको प्रयोग गरेमा सजाय हुन्छ । नियम उल्लङ्घन गरी प्रयोग गरेमा र बदर भैसकेको ट्रेडमार्क चलाएमा कसुरको मात्रा अनुसार जरिवाना हुनुका साथै कसुरसँग सम्बन्धित सबै मालसामान जफत हुन्छ ।

दर्ता गरेको १ वर्षसम्म प्रयोगमा नल्याएमा ट्रेडमार्क जर्ता खारेज हुन्छ। दर्ता भएको मितिले ७ वर्षसम्म ट्रेडमार्कवालाको हक कायम हुन्छ। ट्रेडमार्क प्रयोग गर्न पाउने मितिले ३५ दिनभित्र तोकिएको दस्तुर तिरी यसको नवीकरण गराउनु पर्दछ। अवधि सकिएको ६ महिनासम्म पनि नवीकरण नगरेमा यसको दर्ता खारेज हुन्छ।

पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को अनुसूची–३ मा दरखास्त, दर्ता तथा नवीकरण दस्तुरहरू तोकिएको छ। ट्रेडमार्क हस्तान्तरण पनि हुन सक्दछ। यसका लागि लिने दिने दुबैले कानूमा व्यवस्था भएबमोजिम निवेदन दिनु पर्दछ।  

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।