व्यवसाय नवीकरण गर्नका लागि आवश्यक कागजातहरू

पछिल्लो अपडेट गरिएको: साउन २१, २०७८

अवधि सकिएपछि कुनै काम कुरालाई फेरि लागु गर्न वा निरन्तरता दिन कानुनी रूपमा अनुमति लिने काम नवीकरण हो। व्यवसायलाई पनि दर्ता भएपछि निरन्तरताका लागि तोकिएको अवधिमा अनुमति लिनुपर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ।अनुमति लिनुपर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ।

व्यवसायको प्रकृतिअनुसार कुनै व्यवसाय हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ भने कुनै दुई वर्ष वा पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुनसक्छ। साझेदारी व्यवसाय भए  हरेक वर्ष र निजी (प्राइभेट) व्यवसाय भएमा २ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था (प्रावधान) घरेलु तथा साना उद्योग विभाग कार्य विधि दिग्दर्शन २०७२ मा गरिएको छ।  

व्यवसाय दर्ता गरेको बेला नै कहिले-कहिले नवीकरण गर्नुपर्ने हुन्छ, त्यसको स्पष्ट जानकारी लिनुपर्छ। नीति नियमहरू बेला-बेलामा परिवर्तन भइरहन सक्ने हुनाले यस्ता कुराहरूको बारेमा सम्बन्धित संस्थामा समन्वय गरी अद्यावधिक (अपडेट) भइरहनु पर्दछ। नवीकरण गर्दा  व्यवसायलाई आफूले स्थानीय पालिका, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, विभाग वा अन्य कहाँ दर्ता गरेको हो, सोही कार्यालयमा गई नवीकरण गर्नु पर्दछ। 

अहिले हरेक क्षेत्रमा विद्युतीय विधि (डिजिटल) को प्रयोग भइरहेको हुनाले सम्बन्धित कार्यालयहरूले दर्ता नवीकरण आदिको प्रक्रियालाई सजिलो र छरितो बनाएका हुन सक्दछन्। त्यसैले  सम्बन्धित कार्यालयमा आवश्यक समन्वय गरी काम गरेमा समय खर्च सबै हिसाबले सजिलो हुन्छ। तोकिएको समयभित्र नवीकरण गरिएन भने जरिवाना तिर्नु पर्दछ। जति ढिलो भयो त्यति जरिवानाको रकम बढ्दै जाने र अन्य समस्याहरू पनि आउन सक्दछन्। 

व्यवसाय नवीकरणका लागि आवश्यक कागजातहरू :

  • निवेदन पत्र (आजभोलि सम्बन्धित कार्यालयले यस्तो फारम नै बनाएका हुन सक्दछन्।
  • उद्योग दर्ताको सक्कल प्रमाण पत्र।
  • अघिल्लो आ.व.को लेखा परीक्षण प्रतिवेदन। (यदि ५० लाखभन्दा बढी पुँजी भएको व्यवसाय/फर्म हो भने) 
  • अघिल्लो आ.व.को कर तिरेको निस्सा/प्रमाणपत्र।  
  • रु.१० को टिकट। (हुलाक टिकट) 
  • तोकिए बमोजिमको दस्तुर। 

घरेलु तथा साना उद्योग विभाग कार्य विधि दिग्दर्शन २०७२ मा फर्म/व्यवसायको नवीकरण दस्तुर उल्लेख गरिनुका साथै व्यवसाय सञ्चालन सम्बन्धी अन्य धेरै आवश्यक कुराहरूको जानकारी गराइएको छ। यस सम्बन्धी अन्य जानकारीहरू स्थानीय पालिकाबाट पनि लिन सकिन्छ। कानुनी रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू, जस्तै : कर बुझाउने, नवीकरण गर्ने, प्रतिवेदनहरू बुझाउने आदि कार्यले व्यवसायको पहिचान र प्रतिष्ठा राम्रो हुन्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।